PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

जनगणनामा साक्षरता दर : १० वर्षमा १० प्रतिशत बढ्यो, वाग्मतीमा धेरै हुँदा मधेशमा कम



पहिलोपोस्ट

जनगणनामा साक्षरता दर : १० वर्षमा १० प्रतिशत बढ्यो, वाग्मतीमा धेरै हुँदा मधेशमा कम

काठमाडौं : नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार पुरुषमा साक्षरता दर ८३.६ प्रतिशत र महिलामा साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणनामा ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुको शैक्षिक अवस्था सम्बन्धी विवरण संकलन गरिएको थियो। जनगणनाको नतिजाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,६६,७५,९७५ जनसंख्यामा २,०३,४१,६२३ जना पढ्न र लेख्न दुबै जान्ने देखाएको छ। यस अनुसार देशको समग्र साक्षरता दर ७६.२ प्रतिशत कायम हुने प्रतिवेदनमा उल्लेख छ।

२०६८ सालको जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो। यस अनुसार हाल साक्षरता दल १०.३ प्रतिशत बढेको हो।

प्रदेशगत आधारमा अध्ययन गर्दा वाग्मती प्रदेशमा सबै भन्दा धेरै साक्षरता दर रहेको छ। वाग्मती प्रदेशमा पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्याको ८२.१ प्रतिशत साक्षर रहेका छन्। पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा उच्च रहेको छ । मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर (६३.५%) रहेको छ। पुरुष र महिलाको साक्षरता दर समेत मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ।

यस्तै, सबै जिल्लाहरुमा ५५ प्रतिशत भन्दा धेरै साक्षरता दर देखिएको छ। काठमाडौ जिल्लामा सबैभन्दा बढी (८९.२३%) र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर (५७.७५%) रहेको छ। पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ। रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरुको भन्दा कम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell