काठमाडौं : नेपालका ३४ वटा जिल्लाको जनसंख्या घटेको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन अनुसार नेपालका ३४ जिल्लाको जनसंख्या घटेको छ। प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।
विभागको प्रतिवेदन अनुसार ३४ वटा जिल्लाको जनसंख्या ऋणात्मक रहेको छ। जसमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची, पाँचथर, सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बागलुङ, लमजुङ रहेका छन्।
त्यस्तै, पाल्पा, म्याग्दी, ओखलढुंगा, ताप्लेजुङ, नुवाकोट, काभ्रेपलाञ्चोक, इलाम, दैलेख, बैतडी, डोटी, धादिङ, बझाङ, डडेलधुरा, सल्यान, सोलुखुम्बु, तनहुँ र संखुवासभा रहेका छन्।
सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। भक्तपुरको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत रहँदा दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको छ। यो सूचीमा काठमाडौं १५ औँ स्थानमा छ।