काठमाडौं : २०६८ सालको जनगणना अनुसार नेपालमा परिवारको संख्या ५४ लाख २७ हजार ३०२ थिए। सरकारले सार्वजनिक गरेको हालको जनगणनामा उक्त संख्या करिब २३ प्रतिशतले बढेर ६६ लाख ६६ हजार ९३७ पुगेको छ। जसमध्ये पनि व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन्।
जनगणनाको नतिजा अनुसार देशका ९२.२ प्रतिशत घरपरिवारहरुले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेको देखिएको छ। गत २०६८ को जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत रहेकोमा हाल सो संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ।
बत्ती बाल्नका लागि अक्सर सोलार/सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेको छ। २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत थियो।
प्रदेशगत हेर्दा मधेश प्रदेशमा बिजुली प्रयोग गर्ने परिवार ९७.९ प्रतिशत छन्। यता, कर्णाली प्रदेशमा भने सौर्य उर्जाको प्रयोग धेरै हुने भएकाले बिजुलीको प्रयोग गर्नेको संख्या कम देखिएको छ।
४९.६ प्रतिशत परिवारले बिजुली प्रयोग गर्दा सौर्य ऊर्जा/सोलार प्रयोग गर्ने परिवार ४७.९ प्रतिशत छन्। कर्णाली प्रदेशमा सरकारले सौर्य उर्जा प्रयोगको लागि १० हजार रुपैयाँ अनुदान पनि दिने गरेको छ।