बुटवल : बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-४ बस्ने अन्दाजी २० वर्षीय आविस्कार टण्डन रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
शुक्रवार बुटवल उपमहानगरपालिका-१० होराईजन चोकस्थित बुटवल-भैरहवा सडकखण्डमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु १ क ५३५ नम्बरको तिलोत्तमा क्याम्पसको बसले सोही दिशातर्फ गइरहेको टण्डन सवार लु ७२ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करपछि अनियन्त्रित भएको उक्त मोटरसाइकल भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु १७ प ३७६२ र लु १० प ६०२ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको प्रहरी निरीक्षक पौडेलले बताए। बसको ठक्करबाट गम्भीर घाइते भएका टण्डनलाई उपचारका लागि नजिकै रहेको चौराहा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा लु १७ प ३७६२ नम्बरको मोटरसाइकल चालक तिलोत्तमा ७ बस्ने ३५ वर्षीय हुम बहादुर थापा, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ७० वर्षीया कैसरादेवि थापा र लु १० प ६०२ नम्बरको मोटरसाइकल चालक बुटवल १४ बस्ने ३५ वर्षीय नारायण पन्थ घाइते भएका छन्।
घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।