PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत



पहिलोपोस्ट

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवारको प्रदेशसभा बैठकबाट उनलाई विश्वासको मत प्राप्त भएको हो।

शुक्रवार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले जानकारी दिए।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले संविधानबमोजिम दोस्रोपटक संसदबाट विश्वासको मत लिएका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।

नयाँ समीकरण बनेसँगै एमाले पनि सरकारबाट बाहिरएको छ। प्रदेशसभा बैठकबाटै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्ना सबै मन्त्रीको राजीनामा घोषणा गरेका थिए। यसअघि, मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell