बुटवल : राष्ट्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशका तीन जिल्लामा जनसंख्या घटेको छ। नयाँ तथ्यांक अनुसार पछिल्लो एक दशकमा प्रदेशमा ६ लाख २२ हजार ८०६ जनसंख्या बढेको देखिएपनि १२ जिल्लामध्ये गुल्मी, पाल्पा र अर्घाखाँचीमा भने जनसंख्या घटेको हो।
लुम्बिनी प्रदेशमा २०६८ मा ४४ लाख ९९ हजार २७२ जनसंख्या रहेकोमा एक दशकमा बढेर ५१ लाख २२ हजार ७८ पुगेको छ। जसमा २४ लाख ५४ हजार ८०४ जना पुरुष र २६ लाख ६७ हजार ६७० महिला छन्।
पछिल्लो समय मानिसहरू सुविधा खोज्दै गाउँबाट तराईमा बसाइसराइँ गर्ने लहर चलिरहेका बेला पहाडी जिल्ला गुल्मीमा ३३ हजार ६६६ ले जनसंख्या घटेको छ। २०६८ मा २ लाख ८० हजार १६० जनसंख्या रहेकोमा २०७८ मा आउँदा जिल्लाको जनसंख्या २ लाख ४६ हजार ४९९ मा खुम्चिएको छ।
अर्घाखाँचीमा पनि एक दशकमा २० हजार ५४६ ले जनसंख्या घटेको छ। २०६८ मा १ लाख ९७ हजार ६३२ रहेकोमा अहिले १ लाख ७७ हजार ८६ छ।
त्यस्तै, पाल्पाको पनि जनसंख्या घटेको छ। यहाँ पनि एक दशकमा १६ हजार १५३ ले जनसंख्या घटेको छ। २०६८ मा २ लाख ६१ हजार १८० रहेकोमा अहिले २ लाख ४५ हजार २७ रहेको छ।
यता, रुपन्देही भने ७७ जिल्लामध्ये धेरै जनसंख्या भएकोमध्ये तेस्रोमा परेको छ। काठमाडौं र मोरङपछि धेरै जनसंख्या भएको रूपन्देहीको जनसंख्या ११ लाख २१ हजार ९५७ पुगेको छ।
नयाँ तथ्यांक अनुसार रूपन्देहीको जनसंख्या २०६८ को भन्दा २ लाख ४१ हजार ७६१ ले बढी हो। बसाइँका हिसाबले रूपन्देहीको जनसंख्या १५ लाख भन्दा बढी रहेको अनुमान छ।
नवलपरासी पश्चिममा एक दशकमा ५४ हजार ९६४ ले जनसंख्या बढेको छ। २०६८ मा ३ लाख ३१ हजार ९०४ रहेकोमा अहिले बढेर ३ लाख ८६ हजार ८६८ पुगेको हो।
कपिलवस्तुमा एक दशकमा १ लाख ११ हजार २५ ले जनसंख्या बढेको छ। २०६८ मा ५ लाख ७१ हजार ९३६ रहेकोमा अहिले बढेर ६ लाख ८२ हजार ९६१ पुगेको हो।
दाङमा एक दशकमा १ लाख २२ हजार ३७० ले जनसंख्या बढेको छ। २०६८ मा ५ लाख ५२ हजार ५८३ रहेकोमा अहिले बढेर ६ लाख ७४ हजार ९५३ पुगेको हो।
यस्तै, बाँकेमा एक दशकमा १ लाख ३९ हजार ७८१ ले जनसंख्या बढेको छ। २०६८ मा ४ लाख ९१ हजार ३१३ रहेकोमा अहिले बढेर ६ लाख ३१ हजार ९४ पुगेको हो।
बर्दियामा एक दशकमा १ लाख ३३ हजार ३२४ ले जनसंख्या बढेको छ। २०६८ मा ४ लाख २६ हजार ५७६ रहेकोमा अहिले बढेर ५ लाख ५९ हजार ९ सय पुगेको हो।
रोल्पामा एक दशकमा १० हजार २८७ ले जनसंख्या बढेको छ। २०६८ मा २ लाख २४ हजार ५०६ रहेकोमा अहिले बढेर २ लाख ३४ हजार ७९३ पुगेको हो।
यस्तै, प्युठानमा एक दशकमा ३ हजार ९१७ ले जनसंख्या बढेको छ। २०६८ मा २ लाख २८ हजार १०२ रहेकोमा अहिले बढेर २ लाख ३२ हजार १९ पुगेको हो।
रुकुम पूर्वमा एक दशकमा ३ हजार ६०२ ले जनसंख्या बढेको छ। २०६८ मा ५३ हजार १८४ रहेकोमा अहिले बढेर ५६ हजार ७८६ पुगेको हो।