PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा देखिएको रमजानको पहिलो दिनका दृश्य

विराटनगरमा देखिएको रमजानको पहिलो दिनका दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


विराटनगर : आजदेखि इस्लाम धर्मावलम्बीको महान पर्व रमजान सुरु भयो। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रवार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्ने मान्यता छ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गरिन्छ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई भने रोजा बस्न अनिवार्य छैन। बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ।

रमजानको पहिलो दिन शुक्रवार विराटनगर-६ स्थित सरौचिया जामे मस्जिदमा सामूहिक प्रार्थना गरिएको छ। बालकदेखि बृद्धसम्म सामूहिक प्रार्थनामा सहभागी थिए।

५० वर्षभन्दा पुरानो यो मस्जिदमा दैनिक ३/४ सय जना प्रार्थनाको लागि आउने गरेकोमा आज हजार भन्दा बढी आएको सरौचिया जामे मस्जिद समितिका उपाध्यक्ष तजिम मोहम्मदले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell