काठमाडौं: प्रजातन्त्र पुनर्स्थापनापछि नेकपा (माओवादी) सँगको शान्ति सम्झौतासम्म राजनीतिको केन्द्रविन्दुमा थिए गिरिजाप्रसाद कोइराला। प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापतिमात्र होइन, पटकपटक प्रधानमन्त्री बनेका कोइरालालाई राजनीतिक ओजका कारण 'ताली' बजाउनेको लाइन लाग्थ्यो। तर, त्यही बाटोमा गालीको सामना पनि गर्नुपर्थ्यो उनले।
आमसभामा जाँदा होस् वा कार्यक्रममा, कालो झन्डा बारम्बार सामना गर्थे गोइराला। नेपालमा सबैभन्दा बढी पुत्ला उनकै दहन भयो होला। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको विचार तथा अनुसन्धान विभागको निर्देशक जगत नेपालका अनुसार प्रजातन्त्र पुनर्स्थापनापछि सबैभन्दा धेरै आलोचना कसैको भए त्यो कोइरालाकै भयो। '२०४८ पछि छापाको कार्टुनमा होस् या नारा जुलुसमा सबैभन्दा बढी आलोचना गिरिजाप्रसाद कोइरालाकै भयो,' निर्देशक नेपाल भन्छन्, 'कालो झन्डा देखाउने र आक्रमणको प्रयास त कति हो कति।'
कुनै कार्यक्रममा पुग्दा कालो झन्डा देखाउनेलाई प्रहरीले धरपकड गर्यो भने कोइराला तुरुन्त तिनलाई छाड्न निर्देशन दिन्थे।
'उहाँले के भन्नुहुन्थ्यो भने कालो झन्डा देखाउने, विरोध गर्ने राइटको लागि म लडेको हो। त्यो देखाउँदा फरक पर्दैन। तर सभ्यरुपले देखाउनुपर्छ, छोड्दिनुस्,' औपचारिक मञ्चबाटै भाषण गरेको सम्झन्छन् नेपाल।
आक्रमणमा उत्रन खोज्नेलाई पनि त्यसरी नै तुरुन्तै छाड्न निर्देशन दिन्थे कोइराला।
'हरेक जिल्लामा जाँदा यस्ता घटना हुन्थे। कालो झन्डा देखाएर अट्याक गर्ने। अपमानजनक शब्द प्रयोग गरेर विरोध गर्थे,' नेपालले भने।
उनै कोइरालाले जीवनको उतारर्द्धमा 'राजनेता' बने। कम्युनिस्ट विरोधी छवि बनाएका कोइराला युद्धमा होमिएको माओवादीलाई संसदीय राजनीतमा ल्याउन सफल भए।
उनै कोइरालाको १३औं स्मृति दिवस मनाइरहेकै दिने काठमाडौंको नयाँ बानेश्वरमा एक युवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सामुन्ने देशको स्थितिबारे भन्दै थिए– हे सरकार! जनता मरिसके। बैंकको मिटर ब्याज मिनाह गर।
तर ती युवालाई बोल्नै दिइएन। प्रहरीले मुख ट्याप्पै थुने। यतिमात्र हैन उनलाई घोक्रेठ्याक लगाउँदै लतार्दै-पछार्दै लगेर भ्यानमा खाँदियो। सोम शर्मा नाम गरेका ती युवा बलबुताले भ्याएसम्म प्रहरीलाई पन्छाउँदै भन्दै थिए - हे सरकार, बैंकको ब्याज कम गर। हात जोड्छु। जनता मरिसक्यो।
प्रधानमन्त्रीको कानसम्म यो आवाज पुग्न नहुने प्रहरीले ठान्यो। सोमलाई प्रहरीले झ्यानाकुटी पार्दै नयाँ बानेश्वर प्रहरी चौकी पुर्याइयो। र, थुनुवा लेखिएको रातो टिसर्ट लगाइयो। र पाँच दिन थुनामा राखेर अभद्र व्यवहारमा अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दियो। बाग्लुङका शर्मासँगै सोलुखुम्बुका उद्धव बस्नेत र बझाङका १८ वर्षीय विप्लव खड्का अहिले थुनामै छन्।
'नागरिकलाई तर्साउने हैन, प्रधानमन्त्री पो डराउनुपर्छ'
गिरिजाप्रसादको पुत्ला जलाउने कम्युनिस्ट नै जनताको मुख थुन्न लागिपरेको दाबी गर्छन् नेपाल। 'कम्युनिस्टहरु आफैँले सिकाएको हो विरोध गर्न। तर, अहिले असहिष्णु भए। तानाशाही बन्न थाले,' नेपालले भने।
विश्लेषक निलाम्बर आचार्य शान्तिपूर्ण विरोधमा मुख थुन्ने धृष्टता नगर्न आग्रह गर्छन्।
'हिंसा अपराध हो। शान्तिपूर्ण विरोध मानव अधिकार हो। नागरिकका मुख थुन्ने धृष्टता नगर,' सामाजिक सञ्जाल फेसबुकमा उनले खबरदारी गरेका छन्, 'हाम्रो व्यवस्था लोकतान्त्रिक हो। शासन सञ्चालन पनि लोकतान्त्रिक रहनुपर्छ।'
घटनाको भोलिपल्ट विश्लेषक खगेन्द्र संग्रौलाले यो घटनालाई उत्तर कोरियाली शासनसँग तुलना गरे। 'शासकको आलोचना र कटाक्ष गर्दा वा मुर्दावाद भन्दा उत्तर कोरिया, साउदी अरेबिया आदिमा मुख थुन्छन् भन्ने सुन्याथेँ,' ट्वीटरमा उनले लेखेका छन्, 'उत्तर र साउदीलाई गुरु थापेर यता हाम्रोमा पनि थाले त हाव मुख थुन्न। मर्ने बेलाँ कमिलाको प्वाँख पलाको भन्नु रे क्या!'
शासककाे आलाेचना र कटाक्ष गर्दा वा मुर्दावाद भन्दा उत्तर काेरिया,साउदी अरेबिया आदिमा मुख थुन्छन् भन्ने सुन्याथेँ।उत्तर र साउदीलाई गुरु थापेर यता हाम्राेमा पनि थाले त हाव मुख थुन्न।मर्ने बेलाँ कमिलाकाे प्वाँख पलाकाे भन्नु रे क्या! pic.twitter.com/mmUf0W39MF
— Khagendra Sangroula (@belakoboli) March 22, 2023
अहिले प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसको साथ छ। प्रजातन्त्रको पहरेदार दाबी गर्ने कांग्रेसले प्रचण्ड सहभागी कार्यक्रममा भएको यस्तो विषयमा मुख नखोलेकोमा विरोध जारी छ। यद्यपि, ढिला गरी कांग्रेसका महामन्त्री गगन थापाले यसबारे आफ्नो मुख खोले।
बिहीबार थापाले प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको उल्लेख गर्दै यसबारे सोच्नुपर्ने समेत बताए। 'म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटकपटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला आएको छ,' थापाले भने, 'एक्लै बिहान बेलुका बस्दै गर्दा दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्। भेटघाट बन्द गर्नुहोस् र एकपटक सोच्नुहोस्। म सँग भएको एक/एक क्षणको समयको कसरी प्रयोग गर्ने? डराउनुस्।'
प्रधानमन्त्री नडराए भोलिका दिनमा सुन्ने मान्छेसमेत नपाउने गगनको भनाई थियो।
'कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ,’ गगनले थपे, ‘प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ। प्रधानमन्त्रीले दायाँ हेरे पनि भोट, बायाँ हेरे पनि भोट। मसँग १७२ छ, म ढुक्क छु भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ। हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ।' अहिले देशमा संकट आएको र युवाहरु आत्तिएको अवस्था रहेको उनको भनाई थियो।
'मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ। यति धेरै मानिस निराश भएको देखेको थिइनँ,’ थापाले भने।
अर्थविद् डा प्रदीप तुलाचन युवालाई गरिखान दिने कुनै ठाउँ नदिइएको बताउँछन्। युव उद्यमशीलता अभियानमा लागेका तुलाचन एक लाख ऋण लिन पनि महिनौँ धाउनुपर्ने व्यवस्थाले नेपाली युवा निरास रहेको सुनाउँछन्। त्यसमाथि ब्याजदरको भार बोकिनसक्नुको छ। 'अमेरिकामा ऋणको ब्याज भनेको ५/६ प्रतिशत हो। हाम्रोमा डबल डिजिट माथि छ,' डा तुलाचन भन्छन्,'त्यो पनि पाउन मुस्किल छ।'
पछिल्लो समय युवा यस्तै व्यवस्थाबाट विचलित भएको उनको दाबी रह्यो।
'बोल्न खोज्दा मुख थुनिनु राम्रो संकेत होइन'
वरिष्ठ पत्रकार राजेन्द्र दाहाल मुख थुन्ने विषयको प्रजातन्त्रमा कल्पनै नगरिएको बताउँछन्।
'जब देशमा प्रजातन्त्र थिएन। राजनीतिक स्वतन्त्रता थिएन। दलगत स्वतन्त्रता थिएन, २०४६ सालभन्दा अगाडि। त्यतिबेला प्रजातन्त्रको माग गर्नु वा राजनीतिक स्वतन्त्रता माग गर्नु अपराध हुन्थ्यो। कानुनत: दण्डनीय ठहर्थ्यो। प्रजातन्त्रको माग गर्दैखेरि नारा लगाउनु पनि अपराध ठहरिन्थ्यो। प्रजातन्त्रका नाममा वृक्षरोपण गर्नु र रक्तदान गर्नु पनि अपराध नै ठहरिन्थ्यो। नारा लगाएकै कारण सार्वजनिक मुद्दा लगाइन्थ्यो, मान्छेहरुलाई थुनिन्थ्यो,' दाहाल भन्छन्, 'राजनीतिक स्वतन्त्रता आएपछि त्यसको कल्पना पनि गरिएको थिएन। कसैको मुख थुन्ने। कसैलाई बोल्नै नदिने भन्ने कुराको कल्पना गरिएको छैन। आज पनि यस्तो कुराको कल्पना गर्न सक्दिनँ।'
राजनीतिक कुराको विषयमा आवाज उठाउँदा अरुको हकअधिकार भने उल्लंघन गर्न नहुने उनको भनाई छ। 'मैले मेरो राजनीतिक हकअधिकार प्रयोग गर्दा मलाई पूर्ण रुपमा स्वतन्त्रता हुन्छ। तर, यसमा एउटा शर्त गाँसिएको हुन्छ। मैले अरुको हकअधिकार उल्लङ्घन गर्नुहुँदैन। मैले अरु कानुनको पनि हनन् गर्नुहुँदैन,' दाहाल भन्छन्, 'मैले मर्यादित भाषा प्रयोग गर्नुपर्छ। मैले सामाजिक मर्यादालाई ख्याल राख्नुपर्छ। मलाई गाली बेइज्जती गर्ने अधिकार हुँदैन भन्ने कुरा हरेक नागरिकले हेक्का चाहिँ राख्नुपर्छ।'
सोसल मिडियामा सार्वजनिक भएको भिडियो हेर्ने हो भने प्रहरीले जति कठालो समाते पनि सोम शर्मा नामक ती युवकले अश्लील खालको भाषा प्रयोग गर्दैनन्। तर उनीमाथि प्रहरीको बल प्रयोग बढी नै देखिन्छ। यसखाले कदमको चौतर्फी विरोध पनि भएको छ। के प्रजातन्त्रपछि यस्तो दृश्य अरु बेला पनि देखिन्थ्यो?
'त्यो दृश्य अस्वभाविक लागेको छ मलाई पनि। फोटोमा भिडिओमा मुख थुन्दै गरेको दृश्य देखेँ। तर, के थाह पाइनँ भने त्यो किन थुनियो त?,' दाहालले भने, 'यसको पुष्टि हुनुपर्यो। अश्लील शब्द बोलेको छ, अत्यन्तै अभद्र, अमर्यादित, सामाजिक दृष्टिकोणबाट पनि असह्या कुरा गरेको छ भने त्यसलाई एक हिसाबले हेर्न सकिएला। होइन, सामान्य आक्रोशमात्र पोख्या छ। कानुनसम्मत ढंगबाट आफ्नो नारा लगाएको छ भने त्यस्तो बेला पनि मुख थुन्न खोज्नु? त्यो अधिनायकवादी चरित्रको द्योतक हो। प्रहरीलाई प्रयोग गर्नु भनेको राम्रो संकेत हैन। नारा सुनेर यसको निर्क्यौल गर्नुपर्छ।'
ती युवा पक्राउपछि मुख थुन्न पाइँदैन भन्दै उत्रिएका युवाहरुको पनि प्रहरीले मुख थुनेको तस्बिर अहिले पनि भाइरल छन्। उनीपछि विरोधमा उत्रिने चाहिँ प्रचण्डविरुद्ध नाराबाजी गरेको देखिन्छ।
राजनीतिक नारा लगाउँदा जनताको मुख थुनिनु दूर्भाग्यपूर्ण कुरा भएको दाहालको ठम्याइ छ।
'राजनीतिक नारा लगाउनु नागरिक अधिकारको कुरा हो,' उनले भने, 'राजनीतिक कुरा गर्दा मुख थुन्न जानु दुर्भाग्यपूर्ण कुरा हो।'
आफूलाई नागरिक आन्दोलनको अगुवा भन्न रुचाउने राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि यस्तो घटना हुन नहुने बताउँछन्। 'प्रधानमन्त्रीको होस् कि राष्ट्रपतिको लोकतन्त्रमा विरोध गर्न पाउँछ। गणतन्त्रमा यो स्वतन्त्रता छ। हुनैपर्छ,' श्रेष्ठ थप्छन्, 'प्रधानमन्त्रीको विरोधमा मुख थुन्नु र प्रहरी हिरासत नै पुर्याउनु गलत काम भयो।'
कम्युनिस्ट शासकमात्र यस्तो हुन थाले भन्ने विषयमा भन्ने भनाईमा भने सहमत छैनन् श्रेष्ठ। 'को कांग्रेस को कम्युनिस्ट अहिले छुट्याउन मुस्किल छ। अब को कम्युनिस्ट छ नेपालमा? कम्युनिस्ट पार्टी को? कुनै भेदभाव छैन,' श्रेष्ठले थपे, 'नामको मात्र हो फरक। साइन बोर्डमात्र फरक हो। जुनसुकै पार्टी कार्यालयमा जुनै पनि पार्टीको साइन बोर्ड राखे पनि हुन्छ अहिले।'
प्रजातान्त्रिक मूल्य मान्यतामा खरो उत्रने पार्टी कुनै नरहेको उनको दाबी रह्यो। 'चरित्र, विचार, सिद्धान्त उस्तै भएपछि कसलाई कांग्रेस भन्ने कसलाई कम्युनिस्ट भन्ने? कोही पनि डेमोक्रेटिक भ्यालुमा खरो उत्रिएको देखिँदैन। सबै उस्तै उस्तै मुल्यका छन्,' उनले भने।
प्रेससँग उस्तै त्रास!
पछिल्लो समय नेताहरु प्रेसप्रति नकारात्मक रुपमा उत्रिन थालेका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रेसविरुद्ध कडा अभिव्यक्ति दिनेमा अगाडि छन्। अखबारको स्टाइल बुकमाथि प्रश्न गर्दै भाषा बिगारेको आरोप पनि लगाउन भ्याएका थिए ओलीले। मिडियाले प्रयोग गर्ने 'तिमी' सम्बोधन ओलीका लागि अप्रितकर रहेछ। त्यसैलाई लिएर उनले पत्रकारको कडा आलोचना गरेका थिए। तत्कालीन नेकपाको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका बेला असन्तुष्टि पोख्दै भनेका थिए – सञ्चार माध्यमले बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुर-बुबालाई पनि तिमी। सबैलाई तिमी भन्छन्। यो त नेपाली भाषाको मर्मविपरीत भयो।
मिडियाले उच्च आदरार्थी शब्द ‘तपाईं’, ‘हजुर’ प्रयोग नगरेको भन्दै ओलीले पटकपटक आक्रोश व्यक्त गरे। यतिमात्र होइन प्रतिनिधि सभा विघटनामा सर्वोच्च अदालतले ओलीको कदमविरुद्ध फैसला दिएपछि उनी मिडियाविरुद्ध झन् क्रोधित सुनिएका थिए। एमालेमा ओलीकै शब्दमा 'साइबर सेना' तयार पारियो। प्रतिनिधि सभा र प्रदेश सभाको पछिल्लो चुनावअघि युवा संघलाई मिडियाविरुद्ध अरिंगाल बनेर खनिन् पनि निर्देशन दिए ओलीले।
'हाम्राविरुद्ध डटेर समाना मैले अरिंगाल जसरी प्रचार युद्धमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्यो भने, लगाउने नै हो, हाम्राविरुद्ध सारा सञ्चार माध्यम खन्याउन हुन्छ, उनीहरु झुसे बारुलो भएर खनिन हुन्छ, हामी चाहिँ अरिङाल हुन नहुने? त्यसकारण हाम्रा साथीलाई आग्रह गर्छु हाम्राविरुद्ध झुट गलत बोल्ने, भ्रम फैलाउने र झुटो, प्रचारबाजी गर्नेहरुलाई अरिंगाल भएर ध्वस्त पार्नैपर्छ,' ओलीको निर्देशन थियो।
ओली प्रवृत्ति पछिल्लो समय झन् मौलाउँदो छ। नागरिकता विवादमा आफ्नो सांसद पद गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ओली प्रवृत्तिको 'ओभरटेक' गरे। अध्यक्ष लामिछानेले सरकार छाडेको निर्णय गरेकै दिन मिडियामाथि तथानाम भन्न भ्याए। मिडिया मालिकलाई आफूसँग चुनावमा लड्न चुनौती दिए।
बेलाबेला प्रचण्डले पनि मिडियामा बुर्जुवाको लगानी रहेको प्रतिक्रिया दिँदै आएका छन्।
यद्पि गिरिजाप्रसाद भने मिडियाप्रति राजनीतिक प्राणी अनुग्रहित हुनुपर्छ भन्थे। कोइरालाको बारेमा मिडियामा प्रशस्तै आलोचना प्रकाशित/प्रसारित हुन्थ्यो। राजनीतिको मियो बनेका कोइरालाको बारेमा अनेकन आलोचना छापिन्थे। तर कोइराला चुपचाप बस्ने गरेको सम्झन्छन् नेपाल।
आफूविरुद्ध यतिको आलोचना आउँदा पनि किन चुपचाप बस्नुहुन्थ्यो भनी प्रश्न गर्दा कोइरालाको जवाफ हुन्थ्यो – मिडियाले मेरो कुरा जनतामाझ पुर्यादिदिएका छन्। मिडियालाई मेरो धन्यवाद छ। मलाई साथ दियो।
एकपटक आफ्नो चर्कै विरोध भएपछि भने गिरिजाले पनि भनेका थिए – टाइकुन मिडियाले लखेटे।
त्यसबाहेक मिडियामाथि खासै कोइराला उत्रिएनन्।
वरिष्ठ पत्रकार दाहाल पनि आफूले बुझेसम्म गिरिजाप्रसादले मिडियाको साथमा रहेको बताउँछन्। 'गिरिजाप्रसादको एउटा किताब निस्केको छ। उहाँको संस्मरणको त्यो किताबमा उहाँले के भन्नुभएको छ भने प्रेसले जतिसुकै विरोध गरे पनि हामी राजनीति गर्ने मान्छेहरु जहिल्यै पनि अनुग्रहित हुनुपर्छ। तिनलाई धन्यवाद दिनुपर्छ,' दाहाल भन्छन्, 'तिनीहरुले नै हामीलाई जोगाइरहेका हुन्। हामीलाई जतिसुकै आलोचना गरुन्। राजनीतिक प्राणी जहिल्यै पनि प्रेसप्रति अनुग्रहित हुनुपर्छ उनीहरुको आलोचना गर्ने अधिकारलाई सम्मान गर्नुपर्छ। उनीहरु भएकै कारण हाम्रो अस्तित्व जोगिएको छ।'
यता, कांग्रेस सभापति शेरबहादुर देउवा पनि सबैभन्दा धेरै खप्की खेप्ने नेतामा पर्छन्। पार्टी कार्यालय सानेपा पुग्दा आफ्नै कार्यकर्ताबाट कालो झन्डा बेहोर्छन् उनी। कहिलेकाहीँ उनको सवारीमा आफ्नै नेता कार्यकर्ताको ढुंगामुढा बर्सिन्छ। त्यसो त केन्द्रीय समितिमै पनि देउवाले ठाडठाडो सवालको मुकाबिला गर्नुपर्छ। तर, आफूलाई पार्टीबाटै लखेटियो भन्दै गुनासो गर्ने र धरपकडमा देउवा पनि लागेको देखिन्न। यतिमात्र हैन, विपक्षीले समेत देउवालाई उनको बोलीदेखि जीवनशैलीलाई लिएर खिसीट्याउरी गर्छन्। तर, न देउवाले न त उनको सचिवालयले यसको विरोध गरेको पाइन्छ। आलोचनामा देउवा आफैँ उत्रन नमान्ने उनको सचिवालयको दाबी छ। तर राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने यस कुरामा सहमत छैनन्। 'जनताले आवाज उठाउँदा जसको पालामा पनि मुख थुन्ने काम भएको छ। कसैले बाँकी राख्या छैन। तर थुन्न हुँदैन,' श्रेष्ठले भने, 'थुन्दाखेरि न त केपी वलीले बाँकी राख्या छ। न त गिरिजाप्रसाद कोइरालाले। न चै शेरबहादुर देउवाले। देउवाले त कति ठाउँमा नबोल, नबोल भनेर आफैँ निर्देशन दिएको सबैले देखेकै हो। बीबीसीको एउटा कार्यक्रममा त तपाईं बढ्दा बोल्दै हुनुहुन्छ भनेकै हुन्।'
सत्तामा पुगेपछि किन तर्सन्छन् जनतासँग?
लोकतन्त्रलाई एउटा माध्यमको रुपमा मात्रै स्वीकार गर्ने र सत्तालाई अन्तिम गन्तव्य ठान्ने शक्तिहरुले प्रेसको आलोचनालाई सहन नसक्ने प्रेस काउन्सिलका अध्यक्ष समेत रहिसकेका राजेन्द्र दाहालको ठम्याई छ। 'उहाँहरुको राजनीतिक मान्यताले नै खुला राजनीतिक आलोचना टिप्पणीहरु सहन सक्ने क्षमता कमजोर लाग्छ,' दाहाल भन्छन्, 'लोकतान्त्रिक संस्कार लोकतान्त्रिक आचरणको प्रतिवद्धतामा नै अलिकति उहाँहरु धेरै प्रतिवद्ध छैनन् भन्ने मेरो बुझाइ हो।'
आलोचना कम्युनिस्ट पार्टीको चरित्रसमेत भएको दाहालको ठम्याइ छ। 'लोकतन्त्रलाई एउटा माध्यमको रुपमा मात्रै स्वीकार गर्ने, सत्तालाई अन्तिम गन्तव्य ठान्ने, लोकतन्त्रलाई माध्यम मात्रै ठान्ने शक्तिहरुले प्रेसको आलोचनालाई पनि सहन सक्दैनन्। कम्युनिस्ट पार्टीको धेरथोर चरित्र त्यो हो,' उनले भने, 'लोकतन्त्रलाई उनीहरुले साध्यभन्दा पनि साधनको रुपमा प्रयोग गरिरहेको पाइन्छ। उनीहरुको दस्तावेज हेर्दा पनि त्यही देखिन्छ। त्यसकारण उनीहरुले प्रेसलाई पनि उनीहरुको लागि साधक भइदियो भने उनीहरु खुसी हुने। साधक भएनन् र क्रिटिकल भइदियो भने त्यो पनि शत्रुका रुपमा बुझ्ने गरेको पाइन्छ। यो सब अवधारणागत समस्या नै हो उनीहरुको।'
प्रेसलाई भर्याङको रुपमा प्रयोग गर्ने चाहना कम्युनिस्ट शासकमा देखिएको दाहालको दाबी छ।
'सच्चा लोकतन्त्रवादीले जीवनमा यसलाई आचरणको रुपमा स्वीकार गर्छ। साध्य र साधनको रुपमामात्र ठान्दैन। उहाँहरुले लोकतान्त्रिक पद्दतिलाई खाली भर्याङको रुपमा मात्र प्रयोग गरियो। भनेपछि स्वतन्त्र प्रेसलाई पनि भर्याङ नै ठानियो,' उनले भने।
तर, नेतृत्वप्रति असन्तुष्ट त भइरहन्छन् पहिले पनि हुन्थे त?
'जनताको असन्तुष्टि स्वभाविक हो। मान्छेको चरित्र नै हो। नेतृत्वले आशा देखाउँछ। तर, पूरा गर्न नसकेपछि गाली त खान्छ,' दाहालले भने।
त्यो हुन नदिन के गर्ने त? 'प्रेसवालाले निरन्तर आवाज उठाइरहनुपर्यो। खबरदारी गरिरहनुपर्यो। मान्छेलाई सुसूचित गरिरहनुपर्यो,' दाहालको जवाफ थियो।
सेवा गर्न पठाएका नेताहरु आफैँ मालिक बनेर उत्रिँदा यस्तो हुने बताउँछन् श्रेष्ठ। 'हामीले सेवा गर्न पठाएका हौँ। मालिक पल्टन पठाएका होइन,' श्रेष्ठले भने, 'तर उनीहरु मालिक भएर निस्केको छ।'