PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'



पहिलोपोस्ट

एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'

फ्रेन्च फुटबल टोलीको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएको केही दिनमात्र हुँदैछ। यसबीचमा एम्बाप्पे र अर्का स्टार खेलाडी एन्टोनी ग्रिजमनको कम्बिनेसन जमिरहेको छैन। ह्युगो लोरिस र राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डिडिअर डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तानका रुपमा अघि सारे।

२४ वर्षको उमेरमा फ्रान्सको कप्तान बनेको एम्बाप्पेको राष्ट्रिय टोलीबाट प्रदर्शन लोभलाग्दो छ। कतार विश्वकपबाट फर्कँदा सन ग्लास र लामो कोट लगाएका एम्बाप्पेको ठाँट हेर्दा लाग्थ्यो: उनी कप्तान हुँदैछन्। कतारमा उनले ८ गोल गरेका थिए। जसमा फाइनलमा हारका बावजुत सशक्त प्रदर्शन गरेर उनले वाहबाही बटुलेका थिए।

अर्कोतर्फ एम्बाप्पेले कप्तानी सम्हाल्दै गर्दा उनी भन्दा सिनियर ग्रिजमनले आफूलाई अपमानित महसुस गरिरहेका छन्। स्पेनिस ला लिगामा एटलेटिको मड्रिडबाट खेल्ने ३२ वर्षे ग्रिजमन ढुक्क थिए, कप्तानीको सबैभन्दा प्रवल दाबेदार आफू भएकोमा। हुन पनि एम्बाप्पेले फ्रान्सबाट ६६ क्याप जित्दा उनले ११७ क्याप जितिसकेका छन्। त्यस्तै प्रशिक्षकसँगको सम्बन्धका हिसाबले पनि ग्रिजमन अलिबढी नै 'कन्फिडेन्ट' थिए।

औपचारिक हिसाबले भन्दा उनी यो निर्णयबाट असन्तुष्ट छन् भन्नु 'अण्डरस्टेटमेन्ट' हुन आउँछ। किनभने यसविषयमा उनले आधिकारिक रुपमा प्रशिक्षकसँग कुनै गुनासो गरेका छैनन्। उनको पक्कै पनि सपना थियो: युरो कपमा फ्रान्सको नेतृत्व गर्ने। र, यसपछि त उनी आफ्नो करियरको उत्तरार्धमा छँदै थिए।

ग्रिजमन राष्ट्रिय टोलीमै छन्। फ्रान्सले शुक्रबार नेदरल्याण्ड्स र सोमबार आयरल्याण्डसँग खेल्दैछ। तर, पछिल्लो घटनाक्रममा भन्न सकिने भनेको यही हो: उनको मुड ठिक छैन। यता एम्बाप्पे 'एरा'मा फ्रान्सले यही साताबाट युरोकप छनोट खेल्न सुरु गर्दैछ।

प्रशिक्षकको नजरबाट ग्रिजमनलाई छाडेर एम्बाप्पेलाई कप्तान बनाउनु कतिको जाजय थियो? यसलाई केही प्रश्न र त्यसको सहज जवाफबाटै बुझ्न सकिन्छ।

फ्रान्सको उत्कृष्ट खेलाडीको चर्चा गर्दा कसको नाम अगाडि आउँछ? पक्कै किलियन एम्बाप्पे। के टोलीको उत्कृष्ट खेलाडीले टिममा कप्तानी गर्नैपर्छ भन्ने छ? त्यस्तो छैन। तर, धेरैजसो टोलीको उत्कृष्ट खेलाडीले कप्तानी गर्ने गरेको पाइन्छ। त्यसपछिको अर्को सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको एम्बाप्पे र ग्रिजमनमा कसलाई 'ब्याड न्युज' दिँदा टिमलाई कम क्षति हुन्थ्यो? सायद प्रशिक्षकले यही सोचेर निर्णय लिए।

यदि तपाईं डेसच्याम्प हुनुहुन्थ्यो भने महत्वपूर्ण प्रतियोगिता नजिकिँदै गर्दा एम्बाप्पे चिढ्याउने पक्कै सोच्नु हुँदैन थियो।

'किलियन विश्वका उत्कृष्ट खेलाडी हुन्। यो उमेरमा उनी जे गरिरहेका छन्, त्यो अविश्वसनीय छ।,' डेसच्याम्पले भनेका छन्, ' उनको सोचाइको परिवक्वता र उनको 'इन्टेलिजेन्स'। उनी विभिन्न भाषामा संवाद गर्न सक्छन्। कठिन अवस्थालाई सामान्यीकरण गर्न उनी सक्षम छन्।'

उनी भन्छन्: केही मानिलाई लाग्छ, एम्बाप्पे स्वार्थी छन्। म त्यसमा सहमत छैन। उनले टिमको बारेमा सोच्छन्। उनको आफ्नो 'टेम्पर' छ तर डिल गर्नका लागि उनी सजिला पात्र हुन्।

विश्वकपपछि ४ वर्षको सम्झौता फ्रान्स एफएसँग बढाएका डेसच्याम्प ग्रिजमनको उत्कृष्ट प्रदर्शनहरुको बाबजुत एम्बाप्पेलाई चिढ्याउने जोखिम लिन चाहेनन्।

ग्रिजमन फकाउने एम्बाप्पेको रणनीति

ह्युगो लोसिसको संन्यासपछि यसै साता एम्बाप्पेले कप्तानी भूमिका पाए। आफू उपकप्तानमा मात्र सीमित हुनुपरेको अवस्थालाई अपमान ठान्दै ग्रिजमन संन्यासको मनस्थितिमा समेत पुगिसकेको केही रिपोर्टहरुले जनाएका छन्।

'मैले एन्टोनीसँग कुरा गरेँ। उनी निराश थिए र, स्पष्टरूपमा यो बुझ्न सकिन्छ,' एम्बाप्पेले बीबीसीसँग भने, 'म उनको स्थानमा थिएँ भने पनि सायद त्यसरी नै सोच्थेँ होला भनेर मैले भने। मैले उनलाई म कप्तान र उनी उपकप्तान हुँदा म उनीभन्दा 'सुपेरियर' नहुने बताएँ।'

एम्बाप्पेले पछिल्ला दुई संस्करणको विश्वकपमा राम्रो प्रदर्शन गर्दा ग्रिजमन टोलीका महत्वपूर्ण सदस्य थिए।

'उनीसँग फ्रान्सका लागि खेल्ने अनुभव छ जुन मसँग छैन,' एम्बाप्पेले भने, ' उनलाई उच्च सम्मानमा राखिएको छ। र, सम्पूर्ण टोलीले मन पराएको छ त्यसैले उनको अनुभवबाट लाभ उठाउन नसक्नु हाम्रो लागि लाजमर्दो कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell