PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

सिमरा गोल्डकप : वाग्मती युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको सहज जित



पहिलोपोस्ट

सिमरा गोल्डकप : वाग्मती युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको सहज जित

सिमरा : वाग्मती युवा क्लबविरुद्ध ३-० को सहज जित निकाल्दै वीरगंज युनाइटेड क्लब सिमरामा जारी जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। वीरगंजको जितमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको वाग्मतीविरुद्ध दोश्रो हाफमा वीरगंज हावी भयो। वाग्मतीविरुद्ध खेलको ५४औँ मिनटमा विवेक चौधरीले अग्रता लिए। वाग्मतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगंजका विवेक चौधरीले खाता खोले। डी एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डी एरिया बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए।

१-० ले पछि परेको वाग्मती सम्हालिन नपाउँदै वीरगंजका कृपा चौधरीले अग्रता दोब्बर पारे। खेलको ५६औँ मिनटमा विवेक चौधरीको क्रसलाई कृपाले गोलमा परिणत गरे। खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो।

खेलको ८४औँ मिनटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगंजलाई ३-० को जित दिलाए। कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए।

वीरगंजको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ द म्याच घोषित भए। उनले १० हजार नगद र ट्रफी हात पारे।

प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविए ग्लोबल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बिच प्रतिष्पर्धा हुनेछ। भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell