PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पिटीका 'राजा' नवनियुक्त आइजी कुँवर: आफूजस्तै दौडाउलान् प्रहरी संगठनलाई?



पहिलोपोस्ट

पिटीका 'राजा' नवनियुक्त आइजी कुँवर: आफूजस्तै दौडाउलान् प्रहरी संगठनलाई?

काठमाडौं : २०५१ चैतमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका वसन्त कुँवर नेपाल प्रहरीको ३० ‌औँ प्रहरी महानिरीक्षक (आइजी) बन्न सफल भएका छन्। आइजीको दौडमा रहेका एआइजी टेकबहादुर राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई पाखा लगाउँदै आइजीको दौडमा कुँवरले बाजी मारेका हुन्।

यसपटकको आइजी नियुक्ति विगतमा देखिएकाजस्ता विवादबाट अछुतो नै रह्यो। प्रतिस्पर्धामा रहेका एआइजीहरु सरकारको निर्णयविरुद्ध दुखेसोमा उत्रिएनन्। न कसैले चित्त नबुझेको भन्दै राजीनामा नै दिनुपर्ने अवस्था आयो।

प्रहरी नियमावलीअनुसार वरिष्ठता, कार्यकुशलता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालगायत कुरालाई मध्यनजर गरेर महानिरीक्षकमा बढुवा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर, पनि प्रत्येकपटक आइजी नियुक्तीको क्रममा विवाद हुने गरेको थियो। यस्तै विषयमा सरकारको निर्णयलाई लिएर डिआइजी नवराज सिलवाल, रमेश खरेल र विश्वराज पोखरेलले राजीनामा दिएका पछिल्ला उदाहरण नै छन्।

एआइजी बढुवामा पहिलो नम्बरमा रहेका कुँवरलाई नै सरकारले आइजी नियुक्ति गर्दा कसैले 'चुइँक्क' गर्ने ठाउँ नै पाएनन्। प्रहरी निरीक्षकदेखि एसएसपीसम्म टप टेनमा परेका कुँवर एसएसपी बढुवामा भने पछाडि परेका थिए। २०७५ माघ २६ गते भएको एसएसपी बढुवामा कुँवर १३ नम्बरमा थिए। उनीभन्दा अगाडि उनका प्रतिस्पर्धी टेकप्रसाद राई, श्याम ज्ञवाली  र किरण बज्राचार्य थिए। तर डिआइजी बढुवामा भने कुँवर अघि बढे। 

०७९ असारमा डिआइजी बढुवामा ७५ दशमलव ६९ अंकभारसहित पहिलो बने। उनको पछि टेकबहादुरलाई, अशोक सिंह, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्य थिए। तीन नम्बरमा रहेका डिआइजी अशोक सिंह कमान्ड कन्ट्रोलमात्र होइनन् राजनीतिक चाँजोपाँजोसमेत मिलाउन सक्ने खुबी भएका प्रहरी मानिन्थे। तर आइजी बन्ने लय समातेपछि एकाएक उनको जन्म मिति प्रकरण बाहिरियो। त्यसपछि डिआइजी सिंह राजीनामा दिएर प्रहरी सेवाबाट बिदा भए। त्यसपछि कुँवरको आइजी हुने बाटो थप खुल्ला भएको जानकारहरू बताउँछन्।

दुई साता अघि डिआइजीबाट एआइजीमा बढुवा सिफारिस हुँदा कुँवर एक नम्बरमै रहे। तत्कालीन आइजी धिरजप्रताव सिंहले डिआइजी बढुवालाई नै निरन्तरता दिँदै अंक आधारमा बढुवा गरेका थिए। त्यही एआइजी बढुवालाई नै आधार बनाएर सरकारले पनि कुँवरलाई आइजी नियुक्त गर्‍यो। डिआइजीमा बढुवा भएपछि कुँवरलाई मधेश प्रदेश प्रमुख बनाएर पठाइयो। जतिखेर गृह मन्त्रालयको जिम्मेवारी रवि लामिछानेले सम्हालेका थिए। प्रदेश प्रमुख हुँदा कुँवरको पर्फमेन्स मध्यम नै रह्यो।

सधैँ 'लो प्रोफाइल' मा बसेर काम गरेका कुँवरले अहिले ७५ हजार प्रहरी भएको सङ्गठनको नेतृत्व गर्दै छन्। उनी प्रहरी संगठनभित्र कुनै 'सेलिब्रेटी' छवि बनाएका प्रहरी भने पक्कै होइनन्। कम बोल्ने तर हक्की प्रहरी भनेर चिन्ने गर्दछन्। कमान्ड कन्ट्रोल कम हुने हो की भन्ने आशङ्का भने प्रहरी संगठनभित्र भने छँदै छ। उनले नेपाल प्रहरीको केन्द्रीय प्रवक्तासमेत भएर काम गरेका छन्।

अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका कुँवरले एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए। चितवन जिल्लामा प्रहरी प्रमुख हुँदा उनले शान्ति सुरक्षामा राम्रो काम गरेर चर्चा पाएका थिए।

कुँवर प्रहरी संगठनभित्रि 'पीटी' दौडाउने प्रहरीका रुपमा पनि चिनिन्छन्। उनी जुन जिल्लामा प्रमुख भएर गए त्यहाँ उनले 'पीटी'लाई पहिलो प्राथमिकतामा राखेर काम गर्थे। उनी आफैं पनि बिहान दैनिक २० किलोमिटर भन्दा बढी दौडिन्छन्। उनको अहिलेको प्राथमिकतामा पनि प्रहरी शारीरिक रुपमा फूर्तिलो हुनुपर्छ भन्ने नै छ। त्यसैले दैनिक हुँदै आएको पीटीलाई थप प्राथमिकतामा राख्ने नवनियुक्त आइजी कुँवरले बताए।

'प्रहरी शारीरिक रुपमा फूर्तिलो हुनुपर्छ भन्ने हो। त्यसैले पीटीलगायत शारीरिक व्यायाममा मेरो ध्यान हुने छ,' नवनियुक्त कुँवरले भने।

नेपाल प्रहरीलाई व्यवसायीका प्रहरी बनाउने उनको पहिलो प्राथमिकता रहेको छ। तल्लो तहका नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी प्रहरीको सेवा दिने उनको दाबी रहेको छ। संगठनभित्र राजनीतिक दलको हाबीले यस्ता चुनौती उनको कार्यकालमा पनि रहने देखिन्छ। त्यस्तै पुराना घटनाको अनुसन्धान सफल नहुँदा पनि प्रहरी संगठन बदनाम हुने गरेको छ। निर्मला पन्तको हत्यारा अझैँ पत्ता लाग्न सकेको छैन। उनको लागि यो पनि चुनौती छ।

'निर्मला प्रकरण पनि मेरो प्राथमिकतामा पर्छ। यो धेरै गिजोलिएको घटना हो,' नवनियुक्त आइजी कुँवरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell