
काठमाडौं : भारतको दोस्रोस्तरको घरेलु लिग आई-लिगमा यो सिजन च्याम्पियन बन्यो राउण्डग्लास पञ्जाव। २२ खेलमा ५२ अंक जोड्दै च्याम्पियन बनेको पञ्जाव शीर्ष क्रमको इण्डियन सुपर लिग (आईएसएल)का लागि ‘प्रोमोट’ पनि भइसकेको छ।
आई-लिग खेलिसकेर नेपाली टोलीका कप्तान फुर्सदिला बन्दै नेपाल फर्किए। नेपालमा लगत्तै ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ प्रतियोगिता सुरु हुँदै थियो। उनीसँगै अर्का एकजना उनका ‘टिममेट’ पनि नेपाल आए। टिममेट? उनी हुन् भुटानी ‘रोनाल्डो’ चेन्चो गेल्सेन।
चेन्चो नेपाली फुटबल समर्थकहरु समक्ष अपरिचित नाम होइन। सन् २०१९ मा दक्षिण एसियाली खेलकुद खेल्न उनी नेपाल आएका थिए। उच्च प्रदर्शन गर्दै उनले आफ्नो टोलीलाई फाइनल सम्म पुर्याउन सफल भएका थिए।
यसपटक उनी ‘थ्री नेशन्स कप’का लागि काठमाडौंमा छन्। शनिवार उनको टोली भुटानले लाओससँग प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछ। प्रतियोगिता अघि सञ्चारकर्मीसँग कुरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा गरेको समर्थनका लागि समर्थकहरुलाई धन्यवाद दिए उनले।
उनले भने, ‘त्यतिबेला त्यस्तै भयो, मैले नेपाली समर्थकहरुलाई धन्यवाद दिने अवसर पाइनँ। समर्थनका लागि धन्यवाद दिन चाहन्छु।’
‘गोल गर्छु’ र ‘गोल गर्न दिन्नँ’
फेरि एकपटक चेन्जो भुटानी टोलीको कप्तानी गर्दै नेपाल आएका छन्। उनका विपक्षी कप्तान हुन किरणकुमार चेम्जोङ। भारतमा आई-लिग खेल्दाका आफ्नै सहपाटी।
टिममा छँदा किरण र उनीबीच गोलको विषयलाई लिएर मजाक चल्ने गरेको सुनाए चेन्जोले।
‘राष्ट्रिय टोलीको विषयमा पनि कुरा हुन्छ। म टिम जोगाउँछु। गोल गर्न दिन्न भनेर कुरा हुन्छ। तिमी स्कोर गर्न सक्दैनौँ भनेर मजाक चल्छ,’ चेम्जोङ भन्छन्, ‘बाहिर जति नै जोकिङ चले पनि अन्तिममा हामी आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने हो।’
चेन्चोले पनि आई-लिग खेल्दा मजाक चल्ने गरेको सुनाए।
उनले ‘म गोल गर्छु, म गोल गर्न दिन्न’ भनेर किरणसँग मजाक चल्ने गरेको सुनाए।
शनिवार भुटान र लाओस भिड्दै
प्रधानमन्त्री थ्री नेशन्स कपमा शनिवार भुटान र लाओस भिड्दैछन्। पहिलो खेलमै घरेलु टोलीसँग पराजय ब्यहोरेको लाओस फाइनल प्रवेशका लागि जित्नै पर्ने दवाबमा मैदान उत्रँदैछ। अर्कोतर्फ भुटान आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा रहनेछ।
नेपालसँगको पराजयपछि लाओसको टोलीका प्रशिक्षक मिचेल लिसले आफ्नो टोलीमा परिवर्तन आउने बताएका थिए।
‘हामी टोलीमा परिवर्तन गर्नेछौँ। हाम्रो टोली डाइनामिक हुनेछ’, उनले भनेका थिए, ‘फाइनलमा पुग्ने अपेक्षा छ। तर, यहाँ बोलेर भन्दा पिचमा खेलेर देखाउन चाहन्छु।’
अर्कोतर्फ भर्खरै लिग खेलेर आएको भुटानी टोली पनि बलियो पक्ष हो।
‘हाम्रो लिगपछि हामीले २ महिनाको ट्रेनिङ गर्यौँ। लिगपछि खेलाडी फिट छन्’, भुटानका प्रशिक्षकले भने, ‘वर्षौँ पछि हामी पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछौँ। मेरो लिस्टमा नयाँ युवा खेलाडीहरु छन्।’
भुटानी टोलीका कप्तान चेन्जोले भने : ३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्दैछौँ, उत्साहित छौँ।
आज हुने खेलमा भुटानले जितेको खण्डमा नेपाल भुटान फाइनलमा पुग्नेछन्। लाओसले जितेको खण्डमा भने नेपाल र भुटानबिचको खेलले फाइनल पुग्ने टोलीको निर्क्योल गर्नेछ।