PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

मनाङ मर्स्याङ्दीलाई पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि



पहिलोपोस्ट

मनाङ मर्स्याङ्दीलाई पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि

बुटवलः २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ। बुटवल -११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई ट्राइब्रेकरमा ९–८ गोलअन्तरले हराउँदै मनाङले उपाधि जितेको हो।

उपाधिसँगै मनाङले ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ। मनाङले पहिलोपटक तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो।

निर्धारित समयमा दुवै टिमले १-१ गोल गरेका थिए । खेलको ५८औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङलाई अग्रता बनाए पनि त्यो अग्रता लामो समय टिक्न सकेन। ७०औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले गोल गर्दै खेललाई १-१ बराबरीमा पुर्‍याएका थिए।

त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो। सुदूरपश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सुदूरपश्चिमका फागुराम थारुले एउटा स्कुटर पाएका छन्। यस्तै प्रतियोगिताका बेस्ट गोलरक्षक मनाङका जियानाथ शेख, डिफेण्डर आशिस गुरुङ, बेस्ट फरवार्ड सुदूरपश्चिमका फागुराम थारु, बेस्ट मिडफिल्डर मनाङका विशन गुरुङ, बेस्ट कोच मनाङका किरण श्रेष्ठ घोषित हुँदै जनही ३० हजारका दरले नगद पुरस्कार पाए।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा चैत ४ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell