काठमाडौँ: प्रधानमन्त्री थ्री नेशन्स कप अन्तर्गत आज सम्पन्न खेलमा भुटान लाओससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटान लाओससँग २-१ गोलअन्तरले पराजित भएको हो।
खेलको तेस्रो मिनेटमा बोउनफचन बउनकोनको गोलमा लाओसले अग्रता बनाएको थियो। तर, ३४ औँ मिनेटमा भुटानका चेन्चो ग्याल्चेनले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलमा लाओसलाई जित दिलाउन बोउनफचनले दोस्रो गोलपनि गरे। उनले खेलको ७१ औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजय ब्यहोरेको लाओसले दोस्रो खेलमा भुटानलाई हराउँदै सुखद पुनरागमन गर्न सफल भएको हो। भुटानले आफ्नो दोस्रो खेलमा नेपालसँग मंगलवार खेल्नेछ। उक्त खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।
थ्री नेशन्स कपको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ। त्यस्तै, दोस्रो हुने टोलीले ३ हजार अमेरिकी डलर तथा उत्कृष्ट खेलाडीलाई ५०० डलर गरी पुरस्कारमा ९५०० सय डलर खर्च हुने एन्फाले जनाएको छ।
यसको खर्च राष्ट्रिय खेलकुद परिषद्ले उठाउने छ। त्यस्तै, फिफाबाट आउने रकमबाट २५ सय डलर पनि प्रतियोगितामा खर्च हुनेछ। प्रतियोगिताका लागि १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ खर्च हुने अनुमान एन्फाको छ।
प्रतियोगिताका लागि एमडीएसी मिडिया प्राइभेट लिमिटेडसँग मार्केटिङ तथा ब्रोडकास्टिङ सम्झौता गरेको एन्फाले जनाएको छ। टिकट शुल्क साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ। खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गरिरहेको छ।