PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मध्यरातमा चित्रपुरमा बन्ने चिउराको कथा

मध्यरातमा चित्रपुरमा बन्ने चिउराको कथा

सविन ढकाल/पहिलोपोस्ट


भक्तपुर : मध्यरात भएपछि भक्तपुर सूर्य विनायक नगरपालिकामा पर्ने चित्रपुरको एक कारखानामा चहलपहल सुरु हुन्छ। ५/६ जना महिला र पुरुषहरू आफ्नो काममा लाग्छन्। केही महिला दिनभर सेलाएर राखिएको भट्टीमा आगो सल्काउन थाल्छन्। कोही भिजाएको धानको पानी थिग्राउन थाल्छन्। केही समय अगाडि शान्त रहेको कारखानामा एकाएक मिलको ट्क ट्क…..आवाज गुञ्जिन थाल्छ।

चित्रनगरमा कमल कायस्थ र उनका भाइले संचालन गरेको कारखाना परम्परागत रुपमा (केही परिष्कृत) चिउरा बनाउने प्रक्रिया सुरु हुन्छ। यहाँ 'लोकल' धान 'ताइचन'बाट परम्परागत रुपमा चिउरा बनाइन्छ। तर अहिले परम्परागत चिउरा मिलमा भने केही परिवर्तन गरिएको कमल बताउँछन्।

७२ घण्टासम्म ताइचन धानलाई पानीमा भिजाइन्छ। जसको लागि कारखानाभित्र चार वटा सिमेन्टले ढलान गरेर भिजाउने ठाउँ बनाइएको छ। ७२ घण्टापछि त्यही धानको पानी थिग्राएर चिउरा बनाउने काम सुरु हुन्छ। भक्तपुरमा अहिले यसरी चिउरा बनाउने मिल लोभ हुँदै गएको छ। चित्रनगरमा भने दुई/ चार वटा यस्ता मिल भएको कमल बताउँछन्।

(सम्पादनः चित्रपुर हुनुपर्ने अन्यथा भएकाले सच्याइएको छ)

बढ्दो शहरीकरण र धान  खेती लोभ हुँदा यस्ता चिउरा मिल पनि काठमाडौं उपत्यकाबाट हराउँदै गएका छन्। ताइचिन धान नपाउँदा चिउरा बनाउने काम पनि बाह्र महिनाबाट खुम्चिएर वर्षमा २/ ३ महिनामा समित भएको छ।

'धान नै पाउन मुस्किल भइसकेको छ। जम्मा भएको धानले दुई तीन महिना मात्र काम गर्न पुग्छ। ताइचन धान पाउनै ग्राहै भयो,' कमलले भने।

पानी थिग्राएपछि धानलाई ठुलो कराईमा भुटिन्छ। धान भुट्नको लागि चार वटा कराई भएको भट्टी चुलो बनाइएको छ। चार वटा कराईमा करिब १ किलो जति भिजेको धानलाई हालेर केही समय भुटिन्छ। ४/५ मिनेट भुटेपछि त्यसलाई चिउरा बनाउन पिस्ने मिलमा हालिन्छ। हालेको एक मिनेट  चिउरा बन्छ। यसरी बनेको चिउरालाई पुनः केलाउनको लागि महिलाले मेसिनमा राख्छन्। मेसिनबाट छानिएर चिउरा निस्किन्छ। त्यही चिउरालाई नै बोरामा प्याक गरेर बजारमा पठाइन्छ।

' भट्टीको तातोले गर्दा दिउँसो काम गर्न सकिँदैन। त्यसैले राति ११ बजेदेखि बिहान ८ बजेसम्म चिउरा बनाइसक्नुपर्छ। हामी निन्द्रा माया मारेर काम गर्न आउँछौँ,' चिउरा मिलमा काम गर्ने एक महिलाले भनिन्।

कमल कायस्थले दुई दशक देखि बाजे सुरु गरेको पेसालाई निरन्तरता दिँदै आएका हुन्। तर धानको अभाव र आगामी पिँढीले यसलाई निरन्तरता देलान् कि नदेलान् भन्ने चिन्ता छ उनमा।

:ढ



ट्रेन्डिङ पोस्ट

Ncell