PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

ठुला र नयाँ दलमाथि प्रश्न उठाउँदै कमल थापाले भने : हामी विकल्प बन्छौं



पहिलोपोस्ट

ठुला र नयाँ दलमाथि प्रश्न उठाउँदै कमल थापाले भने : हामी विकल्प बन्छौं

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरु प्रति आमजनतामा वितृष्णामात्रै नभए घृणा पनि बढ्न थालेको बताएका छन्।

काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा थापाले महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा राजनीतिक दलप्रति जनतामा आक्रोश पैदा भएको बताएका हुन्।

थापाले नयाँ दलहरुप्रति पनि जनताको भरोसा टुटेको बताए। भ्रष्ट, अनैतिक र असफल भनेर भनिएका दलहरूसँग गठबन्धन बनाएर ब्रम्हलुटमा सँगै संलग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको उनले बताएका हुन्। सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरुकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको दाबी थियो।

उनले देश डरलाग्दो आर्थिक संकटबाट गुज्रिरहेको भन्दै राजनीतिक दलहरु त्यसप्रति सचेत नदेखिएको टिप्पणी गरेका छन्।

'आर्थिक मन्दी बढ्ने क्रममा छ। कारोबार ठप्प प्राय छ। वित्तिय सकंट गहिरिँदै छ। महङ्गी अनियन्त्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा विचलन आए मुलुक धराशायी हुनेछ,'  उनले भने।

सरकारसँग अहिलेको सकंटबाट मुक्त हुने कुनै नीति, योजना वा कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार विरोधि भरपर्दो वैकल्पिक शक्ति खोजिरहेको बताए।

उनले त्यो वैकल्पिक शक्ति राप्रपा नेपाल हुने भन्दै त्यसलाई सफल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell