बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।
सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने पार्टीको दाबी छ। माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। मुख्यमन्त्रीलाई विश्वासको मत दिएका जसपा र जनमत पार्टी अहिले सरकारमा छन्।
नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)ले बाहिरबाट समर्थन गरेका थिए। अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन्।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ। नेकपा (एमाले)को पक्षमा राप्रपा मात्रै उभिएको छ।
८७ सदस्यीय प्रदेशसभामा पहिलो दल एमालेका २९ सांसद छन्। दोस्रो दल कांग्रेसका २७, माओवादीका ११ सांसद रहेका छन्। राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, लोसपा र जनमतका तीन-तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक-एक र स्वतन्त्र १ सांसद छन्।