बुटवल : लुम्बिनी प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट मन्त्री बनेका तीन जनाले राजीनामा बुझाएका छन्। आइतवार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट मन्त्री बनेका तीनै जनाले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।
आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिएका हुन्।
माओवादी केन्द्र बाहिरिएसँगै नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री गिरीले राजीनामा दिने कि ३० दिनभित्र विश्वासको मत लिने दुई विकल्प रहनेछन्।
गिरी गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए। ८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरी प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदले समर्थन गरेका थिए। कांग्रेसका २७, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १-१ सांसदले भने समर्थन गरेका थिएनन्।