PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

संसदमा उठ्यो धुर्मुस सुन्तलीले अलपत्र पारेको रंगशालाबारे प्रश्न : खेलाडीको तलब बढाउन दिए यस्तो सुझाव



पहिलोपोस्ट

संसदमा उठ्यो धुर्मुस सुन्तलीले अलपत्र पारेको रंगशालाबारे प्रश्न : खेलाडीको तलब बढाउन दिए यस्तो सुझाव

काठमाडौं : आइतवारको प्रतिनिधिसभामा खेलकुद क्षेत्रले पनि चर्चा पाएको छ। संसदमा क्रिकेटले पाएको सफलतादेखि फुटबलका खेलाडी पलायन र चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय स्टेडियमसम्मको विषय उठे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले फुटबल खेलाडी विदेशिरहेकोबारे सरकारको ध्यानाकर्षण गराए। शाहीले खेलकुदमा बजेट अत्यन्तै न्युन भएको गुनासो गर्दै सांसद र मन्त्रीहरुको स्वकीयको तलबभत्ता कटाएर खेलाडीको तलब बढाउन माग राखे।

'अहिले पनि खेलकुद क्षेत्रमा नेपाल सरकारको बजेटमध्ये ०.१३ प्रतिशत बजेट छुट्याइए छ। यसो हेर्दा मन्त्रीज्युको स्वकीय सचिवभन्दा कम पैसामा खेलाडी खेलिरहेका छन्,' सांसद शाहीले भने, 'म भन्न चाहन्छु, हामी सबै सांसद मन्त्रीहरुको स्वकीयको पैसा कटाएर खेलाडीहरुको तलबमा बृद्धि गरियोस। रंगशाला बनाइयोस।'

फुटबलका खेलाडी विदेशमा

उनले देशलाई चिनाउने खेलाडी विदेशिएको भन्दै सरकारको ध्यानाकर्षण गरे।

'यो देशलाई यदि संसारमा कसैले चिनाउँछ भने त्यो खेलाडीले चिनाउँछ। तर फुटबल खेलाडी सुजल श्रेष्ठ नेपाल छाडेर विदेश जान बाध्य भए,' उनले भने, 'भक्तपुरका बागेश्वरी स्कुलका विद्यार्थीले खाडीमा भेटौँला भनेर लेखे। देशको अवस्था यस्तो छ।'

नेपाली कांग्रेसकी सांसद शान्ति विकले पनि खेलाडी संन्यास लिँदै विदेशिने अवस्था आएको भन्दै सरकारलाई प्याकेज ल्याउन ध्यानाकर्षण गरिन्।

'खेलाडी राष्ट्रका गहना हुन्। तर तिनै खेलाडी पीडाबोध भएर राष्ट्रिय टोलीबाट संन्यास लिँदै विदेश पलायन हुन बाध्य भइरहेका छन्,' उनले भनिन्, 'यस्तो धराशायी अवस्थामा रहेको खेलप्रति विद्यमान खेलाडी र नव खेलाडीलाई कसरी प्रोत्साहन गर्ने भन्ने बृहत प्याकेज घोषणा गर्न ध्यानकर्षण गर्दछु।'

पछिल्लो समय नेपाली खेलाडी विदेश पलयन हुने दर भयावह छ। ए डिभिजन लिग खेल्ने खेलाडीसँगको तथ्यांक जोडेर हेर्दा ४० भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन्। जसमा आधा दर्जन बढी खेलाडी राष्ट्रिय टोलीको पहिलो रोजाइमा पर्दै आएका छन्।

पहिलो रोजाइमै खेल्ने विशाल राई, तेज तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, सुनिल बललगायतका महत्वपूर्ण खेलाडी विदेश पलायन हुँदा टिमको सन्तुलन भने बिग्रिएको काठमाडौँमा जारी प्रधानमन्त्री कप थ्री नेशन्स कपमा स्पस्ट देखिएको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई हराए पनि प्रदर्शन भने अत्यन्तै फितलो देखिएको थियो।

‘अभ्यासमा राम्रै भइरहेको थियो। त्यही मोमेन्टमा गोल भए। तर, खेल सन्तोषजनक थिएन’, उक्त खेलका प्लेयर अफ दी म्याच बनेका तामाङले भनेका थिए, ‘तयारी पनि समय थिएन। नयाँ खेलाडी धेरै हुँदा सोचे जति भएन। अलि पछाडि बसेर खेलेका थिएनन्। बल पोजेसन राख्न नसके पनि जितका कारण राम्रै भयो।’

त्यस्तै खेलाडी पलायनले गर्दा लिगको स्तर र राष्ट्रिय टोलीको सन्तुलन बिग्रने पटकपटक फुटबलका जानकारहरुले चेतावनी दिँदै आएका छन्। यद्यपि खेलाडी पलायन हुने क्रम भने रोकिएको छैन।

क्रिकेटलाई बधाईसँगै प्रश्न : खै रंगशाला?

नेपाल खेलकुद क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको खेल हो क्रिकेट। पछिल्ला १२ मध्ये ११ जित निकाल्दै विश्वकप छनोटमा पुगेको नेपालको पछिल्लो लय लोभलाग्दो छ। विश्वकपको नजिक नेपाल पुगेसँगै फेरि एकपटक रंगशालाको चर्चा चुलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहलसमेत उपस्थित रहेको क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा त्रिवि क्रिकेट मैदानमा दर्शक व्यवस्थापन अस्तब्यस्त हुँदा दर्शकहरुले रुखमा समेत चढेर खेल हेरेका थिए। यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत कभर गरेका थिए।

'सरकारका सामू खेल र खेलाडीलाई कसरी थप अभिभावकत्व प्रदान गर्न भन्ने विषयमा गम्भीरता प्रस्तुत गर्ने जिम्मेवारी आएको छ,' सांसद विकले भनिन्, 'नेपाली क्रिकेटले छोटो अवधिमा विश्वको ध्यान नेपालतिर तानिरहेको बेला नेपालमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुविधा सम्पन्न रंगशाला नहुँदा त्यसले हाम्रो देशको समग्र अवस्थालाई नै चित्रण गरेको छ।'

उनले विश्वकप छनोटमा पुगेकोमा नेपाली टोलीलाई बधाई दिँदै खेलप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेकी छिन्। उनले रंगशाला नहुँदा अन्तर्राष्ट्रिय जगतमा गएको संन्देशतर्फ संकेत गर्दै सरकाले यसमा विलम्ब गर्न नहुने तर्क गरिन्।

'हाम्रो देशको व्यवस्थापन, हाम्रो खेलप्रतिको विश्वास सरकारको गाम्भीर्यता, हाम्रो राजनीतिक अवस्था र समग्र राष्ट्रको अवस्थालाई समेत उजागर गरेको छ। त्यसैले अव विलम्ब नगरी सरकार गम्भीर बन्न आवश्यक छ,' उनले भनिन्।

चितवनको रंगशालाबारे चासो : किन बनेन?

चारवर्ष अघि धुर्मुस सुन्तली फाउण्डेसनले चितवन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन सुरु गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डलगायतका राजनीतिक दलका शीर्ष नेतृत्वलाई अगाडि राखेर फाउण्डेसनका सीताराम कट्टेल धुर्मुसले गर्विलो हुँदै भनेका थिए: हामी रंगशाला बनाउँछौँ।

रंगशाला निर्माणको काम अगाडि पनि बढ्यो। तर, पछिल्लो समय रंगशाला निर्माण चलिरहेको छैन। यही हप्ता कट्टेलले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफूहरुले सोचेजस्तो सहयोग नआएको र सरकारी निकायबाटै पनि घोषित सहयोग नआउँदा रंगशाला उधारोमा रहेको बताएका छन्। उनले आफूले यो टुंग्याउन प्रयास गरे पनि नेतृत्वबाट सहयोग नपाएका उल्लेख गरेका छन्। त्यस्तै कुञ्जना घिमिरेले सामाजिक सञ्जालमा धम्कीहरु आएको भन्दै गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताएकी छिन्। उनीहरुमाथि आर्थिक क्रियाकलाकलाई लिएर प्रश्नहरु उठ्न थालिसकका छन्।

आइतवार प्रतिनिधिसभामा सांसद विकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानबारे ध्यानकर्षण गराइन्। उनले उक्त रंगशालामा सम्पूर्ण चितवनबासी र देशविदेशमा रहेका नेपालीले सहयोग गरेको भन्दै यसलाई निकास दिनुपर्ने माग राखिन्।

'रंगशाला अलपत्र परेको छ। भरतपुर महानगर र धुर्मुस सुन्तली फाउन्डेसनबीच आआफ्नै दाबीका बीचमा सरकारले उक्त रंगशालाको निर्माण प्रक्रया तार्किक निष्कर्षमा कसरी पुर्‍याउँछ भन्ने बुझ्न आवश्यक छ,' उनले भनिन्, 'उक्त रंगशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरी सरकारको स्वामित्व रहने गरी नेपाल क्रिकेट संघ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसहितको संयुक्त समिति गठन गरी अवरुद्ध भएको निर्माण प्रक्रिया यथाशक्य सुचारु गरी अवरुद्ध निर्माण प्रकृयालाई आयोजना सम्पन्न गर्न सरकारलाई अनुरोध गर्दछु।'

त्यस्तै अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले यति ठूलो परियोजना चन्दाकै भरमा निर्माण गर्न दिने परिपाटीको समीक्षा गर्नुपर्ने भन्दै कटाक्ष गरिन्।

'चर्को बहस र विवादका बीच चन्दा मागेर सुरु गरिएको यो रंगशाला फाउण्डेसनले नसक्ने भनेर हाल अलपत्र परेको छ,' सुवेदीले भनिन्, 'संघ, प्रदेश र महानगरको ३५ करोडभन्दा बढी रकम लगानी, यतिमात्र होइन चितवनलगायत देशभित्र र बाहिरका जनताले आफ्नो छाक काटेर दिएको करोडौ रुपैँयासमेत डुबेको छ।'

उनले यो परियोजनाबारे छानविन गरेर सरकारले स्वामित्व लिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन्।

'३ अर्ब ५५ करोडको अनुमानित रकम लाग्ने यति ठूलो परियोजना चन्दाकै भरमा निर्माण गर्न दिने परिपाटीको गम्भीर समीक्षा गरि हल गर्ने निकाल्न र यो परियोजनाको छानविन गरी नेपाल सरकारले स्वामित्व लिइ निर्माण पुरा गर्न नेपाल सरकारको ध्यान आकर्षण गराउँछु,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell