PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

फागुन मसान्तसम्ममा चितवनमा ५९२ जनामा देखियो क्षयरोग, आठ बालबालिका पनि



रासस

फागुन मसान्तसम्ममा चितवनमा ५९२ जनामा देखियो क्षयरोग, आठ बालबालिका पनि

चितवन : चितवनमा आठ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन्।

स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्क्रमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक/एक र इच्छाकामना गाउँपालिकामा एक जना छन्। चौध वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए।

दुवाडीले बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए। सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन्। बालबालिकामा स्वासप्रश्वास र जुठो खाँदा क्षयरोगको सङ्क्रमण सर्ने उनको भनाइ छ।

दुवाडीले भने, ‘अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि सर्ने गरेको छ।’

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गरेको छ। गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको सङ्क्रमण देखिएको थियो। तीमध्ये ३१ बालबालिका थिए। आर्थिव वर्ष २०७७/७८ मा सङ्क्रमितको सङ्ख्या आठ सय ९३ मध्ये १८ जना सङ्क्रमित बालबालिका थिए।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्षण देखिए क्षयरोग भएको हुनसक्ने दुवाडीले बताए। यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ। स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्ने र समय-समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell