PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चलचित्र निर्देशक समाजको नेतृत्व चयनमा पूर्वअध्यक्षकै असन्तुष्टि किन?



लक्ष्मी बलायर

चलचित्र निर्देशक समाजको नेतृत्व चयनमा पूर्वअध्यक्षकै असन्तुष्टि किन?

काठमाडौं : शनिवार नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत चयन भए। नयाँ नेतृत्व आएसँगै पूर्वअध्यक्ष केपी पाठकले भने समाजको सदस्यता नै त्याग्ने घोषणा गरे।

फेसबुकमार्फत सदस्यता नरहने घोषणा गरेका पाठकले असन्तुष्टि जनाएको विषय हो - चुनावी प्रक्रिया। चुनावी महाधिवेशनमा गैरसदस्यको प्रभाव बढी भएको कारण आफूले सदस्यता त्यागेको उनको दाबी रह्यो।

‘हिजोको चुनावी साधारणसभामा गैरसदस्यको प्रभाव बढी थियो। उनीहरुलाई बन्दसत्रमा प्रवेशमासमेत रोक लगाइएन। को उठ्ने/को नउठ्नेमा पनि गैरसदस्यको नै हस्तक्षेप देखियो। उम्मेदवारलाई जबर्जस्ती उम्मेदवारी फिर्ता लिन दबाव दिनेजस्ता कार्यहरु भए,' पाठकले दाबी गरे, 'जसले उम्मेदवारको रुवाबासी नै चलेको थियो। त्यसमाथि महिला सदस्यप्रति गरिएको दुर्व्यवहार देख्दा मलाई यो संस्थामा बस्न मन लागेन।’

निर्देशक समाजजस्तो बौद्धिक संस्थामा अमर्यादित गतिविधि हुनु लाजमर्दो कुरा भएको उनको ठोकुवा रह्यो। पाठक भन्छन्, ‘निर्देशक समाज 'क्याप्टेन'हरुको संस्था हो। जसको आफ्नै बौद्धिक तरिकाको शैली हुनुपर्छ। तर, हिजोको महाधिवेशनमा निर्देशक समाज पावर शो गर्नेहरुको संस्थाजस्तो देखियो। खाली निर्देशक समाजभन्दा पनि लखेट प्रवृति देखियो। यो सर्जकहरुको संस्था नै भएन।’

पाठक २०६४ देखि दुई कार्यकाल समाजको अध्यक्ष रहे।

‘आफू दुई कार्यकाल अध्यक्ष भएको संस्थाको अवस्था देखेपछि निकै दिक्क लागेको छ। उहाँहरुको केही कार्यक्रम र कार्यदिशा पनि ल्याउनु भएको थिएन। अमर्यादित गतिविधीको भारी नबोक्न सदस्यमा नबस्ने निर्णय लिएको हुँ। यो निर्णय चलचित्र निर्देशक समाजको कार्यशैलीको विरोध हो,’ उनले भने।

नवनिर्वाचित महासचिव अरुणकुमार प्रधानले आफूलाई निर्णय फिर्ता लिन फोनमार्फत आग्रह गरेको उल्लेख गर्दै आफ्नो निर्णयमा आफू अडिग रहेको पाठकको भनाई रह्यो। अमर्यादित गतिविधि रोकिएमा सदस्यता पुन: लिनेसमेत उनले प्रष्ट पारे।

निर्देशक सम्झना उप्रेती रौनियारले पनि शनिवार भएको चुनावी महाधिवेशनमा गैरसदस्य हाबी भएको बताइन्। प्रजातान्त्रिक पद्दतिअनुसार मतदान हुनुपर्ने भएता पनि हिजोको चुनावमा ‘मोनोपोली’ भएका कारण चुनाव हुन नसकेको सुनाउँछिन उनी।

‘चलचित्र निर्देशक समाजको चुनावी महाधिवेशनमा मोनोपोली प्रवृति देखियो। जसकारण मतदान प्रक्रियाबाट चुनाव हुन सकेन। बाहिरी व्यक्तिको हस्तक्षेपका साथै जबर्जस्ती उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न लगाइयो,‘ रौनियारले भनिन्।

साथै उनले कार्यक्रममा निर्माता राजकुमार राईले महिलालाई अपमानजनक अभिव्यक्ति दिएको आरोपसमेत लगाइन्। ‘हिजो राजकुमार राईलाई उद्घाटन सभाको निम्तो दिइएको थियो। तर,  जथाभावी बोल्नुभयो। बहसको क्रममा उहाँले मलाई आईमाई भएर धेरै बोलेको सुहाउँदैन भन्नुभयो। संघको सदस्यसमेत नरहेको मान्छेलाई सबैतिर बोल्ने कसले अधिकार दियो? निर्माता संघ र चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेको व्यक्तिले यसरी सबैतिर आएर सबै ठाउँमा आएर गुण्डागर्दी गर्न मिल्छ? महिलाप्रति लक्षित अभिव्यक्तिप्रति मेरो आपत्ति हो,‘ उनले भनिन्।

यता राजकुमार राईले भने आफूले कार्यक्रममा त्यस्तो अपमानजनक शब्द नबोलेको दाबी गरे। त्यसैगरी आफू संस्थाभित्रकै सदस्य भएकोसमेत राईको भनाई रह्यो। 'मैले त्यस्तो शब्द बोलेजस्तो लाग्दैन। म सल्लाहकार पनि हो। अब म कसरी बाहिरको परे हुँला? पत्र पठाएर विशिष्ठ अतिथिका रुपमा मलाई निम्तो दिनुभएको हो,' राईले भने।

संस्थाको निर्वाचनमा सबैलाई मिलाएर जान खोज्दा कहिलेकही यस्तो हुने उनको भनाई रह्यो। 'हामी सबैको कर्तव्य हो मिलाउनु। मिलाएर जाउ भन्दा यस्तो भएको हो,' राईले भने, 'अरु केही भएको हैन।'

नवनिर्वाचित अध्यक्ष पराजुलीले भने यसबारे मुख खोल्न चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell