PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कांग्रेसबाट मन्त्री छान्न देउवालाई सकस, नेतृत्व पूर्णबहादुर कि प्रकाशमानको?



नेत्र तामाङ

कांग्रेसबाट मन्त्री छान्न देउवालाई सकस, नेतृत्व पूर्णबहादुर कि प्रकाशमानको?

काठमाडौं: नेकपा (एमाले) बाहिरिएसँगै सत्तामा आफ्नो भाग पक्का गरेको कांग्रेसलाई मन्त्री छान्न मुस्किल परेको छ। ८९ सांसद रहेको कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक अधिकांश सांसदले मन्त्री बन्न रहर गरेका छन्।

यसपटक कांग्रेसले ७ देखि ९ सम्म मन्त्रालय पाउने भएको बताइन्छ। यद्यपि गठबन्धनमा यसको टुंगो लागेको छैन। कांग्रेसले भने यसअघि नै मन्त्री छान्न मुस्किल हुने भन्दै चार मापदण्ड तय गरिसकेको छ। केन्द्रीय कार्यसम्पादन समितिले मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशी र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

को को बन्लान् मन्त्री?

भोलि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। त्यसैले अहिले सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बिहानैबाट सांसदहरु हाजिर लगाउन पुग्छन्। सबैले मन्त्री बन्ने आकांक्षा राखेकोले कांग्रेसले पाउने सीमित सिटमा कसलाई चिठ्ठा पर्ने हो पत्तो छैन।

त्यसैले मन्त्री बन्ने लाइनमा रहेका नेता यसबारे मुख खोल्न तयार देखिन्नन्। आइतबार संसद पुगेर फर्कने क्रममा कांग्रेसबाट नेतृत्व गरी सरकारमा जाने लगभग पक्कापक्की भइसकेको बताउने उपसभापति खड्काले समेत यसबारे खुलाएनन्। खड्काले आफू मन्त्री नबन्ने अडानमै रहेको दाबी गर्दै सञ्चारकर्मीसँग भने, 'अहिलेसम्म छलफलमात्र भइरहेको छ। कुन पार्टीले कुन मन्त्रालय पाउने टुंगो लगाएको छैन। औपचारिक रुपमा कसलाई सरकारमा पठाउने कुरा पनि भएको छैन।'

यसपटक कांग्रेसबाट चर्चामा रहेको नामहरुमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, डा प्रकाशशरण महत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा नारायण खड्का, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहन बस्नेत, उदयशमशेर राणा, एनपी साउद, किशोरसिंह राठोर, डिगबहादुर लिम्बु, मोहन आचार्य, सीता गुरुङ, रमेश रिजाल, दिनेश यादव, सुरेन्द्र आचार्यलगायतको नाम चर्चामा छ।

संस्थापनइतरले उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी र डिगबहादुर लिम्बूको नाम सिफारिस गरिसकेको जनाएको छ।

धुम्बाराही स्रोतले धनराज गुरुङ, अर्जनुनरसिंह केसी र जीवन परियारमध्ये एक जनामात्र मन्त्रिपरिषद्मा पठाइने दाबी गरेको छ। यसैगरी रमेश रिजाल वा दिनेश यादवमा एक जना छानिने बताइएको छ।

देउवा टिमबाट एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने पक्कापक्की भइसकेको कांग्रेस नेताहरुको दाबी छ। एनपी साउद महाधिवेशनमा महामन्त्रीबाट ब्याक भएर देउवालाई सघाएका नेता हुन्। त्यसैगरी सीता प्रत्यक्षमा निर्वाचित एकमात्र महिला सांसद हुन् कांग्रेसमा। यसैगरी प्रमुख सचेतक रमेश लेखक र नारायण खड्का पनि मन्त्री बन्ने लाइनमा छन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि सरकारमा जाने रहर निर्वाचन अघिबाटै गरिरहेका छन्। कोइराला आफू सरकारमा सहभागी नभए उनको कोटाबाट एकजना मन्त्री पठाइने बताइन्छ। जसमा दिपक खड्का पक्कापक्की हुने शशांक निकट नेताले बताए।

भूगोलको सन्तुलन मिलाउँदा काठमाडौंबाट एक जना मन्त्री बन्ने देखिन्छ। गगन मन्त्रिपरिषद्मा सहभागी नभए अर्जुननरसिंह केसीले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ।

आरजुलाई विवादको डर!

सुरुदेखि नै परराष्ट्र मन्त्रीमा पक्कापक्की बताइएको डा आरजु देउवालाई मन्त्री बनाउँदा विवाद हुने डर धुम्बाराहीलाई देखिन्छ। केन्द्रीय सदस्य र समानुपातिकमा नाम राख्दासमेत विवादमा तानिएकी आरजु सभापति देउवापत्नी हुन्। यसपटक जसरी पनि मन्त्री बन्ने जोडबलमा लागेकी छिन् आरजु। तर विवादमा परिने डरले देउवाले मन्त्रिपरिदमा पठाउने सम्भावना कम रहेको बताइन्छ।

'उहाँलाई पठाउँदा सभापति विवादमा तानिने डर छ। त्यसैले यसपटक नपठाउन सक्छ,' देउवा निकट एक केन्द्रीय सदस्यले भने।

नेतृत्व कसको?

सरकारमा कसलाई पठाउने? रस्साकस्सी चलिरहेकै छ। कसको नेतृत्वमा पठाउने भन्ने विषयमा पनि यस्तै सकस छ। पार्टीको नेतृत्व गर्न दुई उपसभापतिमात्र हैनन् नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला, डा शशांक कोइराला पनि तयार देखिन्छन्।

देउवा जसरी पनि आफ्नो टिमबाटै सरकारमा विश्वासिला क्याप्टेन पठाउने प्रयासमा छन्। देउवा सचिवालयका अनुसार पूर्णबहादुर वा प्रकाशमानको नेतृत्वमा कांग्रेस प्रचण्ड सरकारमा सहभागी हुने तयारी छ। तर विमलेन्द्र र डा शशांक पनि निरन्तर लबिइङमा छन्। डा शेखर भने मरिहत्ते गरेर सरकारमा सहभागी नहुने लाइनमा रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell