वीरगंज : वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। वीरगंज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरको नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुसालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख ५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुसालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो। गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने वीरगंज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउँछन्।
उनले भने, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचिरहेका थिए, उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन्, उनीहरु जो भएपनि कारबाही गर्नुपर्छ।’
दर्दवास्थित नदीको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुनेमा स्थानीय शेष पटेल चिन्तित छन्। उनी भन्छन्, ‘अहिले जथाभावी रुपमा जग्गा उत्खनन् गर्दा पछि हाम्रै घरखेतमा पनि नदी बग्न सक्छ, छेउमै भएको नदीको पानीले घरखेत डुबाउनुका साथै वर्षायाममा बाढीको डर हुने भयो, अब जसरी हुन्छ यसलाई रोक्नुपर्यो।’
गुठीको जग्गालाई हडप्न खोजेकोप्रति आपत्ति जनाउँदै स्थानीय नवराज गिरी पनि सार्वजनिक जग्गामा उत्खनन् गर्न नमिल्ने बताउँछन्। नियन्त्रणमा लिइएको टिपरका चालकका अनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन्। यद्यपि, अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकतोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुसालले बताए।
महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिए। साथै, उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह गरेका छन्।