PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

नवीन्द्रराजको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले भने : जोशीको छवि प्रेरणादायी



पहिलोपोस्ट

नवीन्द्रराजको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले भने : जोशीको छवि प्रेरणादायी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दिवंगत नेता नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता भएको बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जोशीको स्मरण गरेका हुन्।

पौडेलले राजनीति समाज र जनताप्रति सेवाभावले ओतप्रोत हुनुपर्ने उल्लेख गर्दै जोशी यही दर्शनबाट प्रभावित रहेको बताए। 'राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ,' राष्ट्रपति पौडेलले भने, 'जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए।'

जोशीको शालिक निर्माणले देश र जनताका लागि उनले पुर्‍याएको योगदानलाई सदैव जीवन्त राख्नेसमेत राष्ट्रपति पौडेलको भनाई थियो। आफूले नवीन्द्रराजलाई नजिक रहेर चिनेको उल्लेख गर्दै पौडेलले उनको छवि सदैव प्रेरणादायी रहने धारणा राखे। 'मैले नविन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँ,' पौडेलले भने, 'स्वतन्त्र विद्यार्थी आन्दोलनको गर्भबाट भर्भराउँदो र कलकलाउँदो मुना बनेर निस्केको नवीन्द्रको व्यक्तित्व शिक्षाका साथै विद्यार्थी संगठनको माथिल्लो नेतृत्व, महानगरपालिकाको उपप्रमुख, संविधानसभा सदस्य, सांसद र मन्त्रीका साथै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संस्थापक अध्यक्षजस्ता कयौं सामाजिक संस्थाको आवद्धतासँगै राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि सदैव प्रेरणादायी छ भन्ने मलाई लाग्दछ।'

वि‍सं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशीको दुई वर्षअघि २०७७ चैत १३ गते मस्तिस्कघातका कारण निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell