PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा



पहिलोपोस्ट

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए।

घरेलु दर्शकको समर्थन पाएको वीरगंज यूनाइटेड खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो। खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे। विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो।

पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटीविरुद्ध बीरगंजले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्‍यो। दोस्रो हाफको शुरुबाटै एनआरटीविरुद्ध आक्रामक खेल खेलेपनि वीरगंजले स्कोर बनाउन सकेन।

खेलको ५४ औं मिनटमा बीरगंजले एनआरटीविरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो। वन भर्सेस वनको स्थितीमा वीगंजका कृपा गोल गर्न चुके। कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे।

खेलको ७४ औं मिनटमा वीरगंजले अर्को आकर्षक अवसर गुमाएको थियो। निरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो। अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगंजले ८४ औं मिनटमा अर्को अवसर गुमायो। निरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा बीरगंजले अर्को अवसर खेर फाल्यो। कृपा चौधरीले किपरसमेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन्। पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीयो।

प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केही आकर्षक गुमाएको थियो जसकारण वीरगंजविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो।

खेलको सातौं मिनटमा कृति रत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीएको थियो। खेलको ६४ औं मिनटमा अशोक थापाले किपरसमेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन्। उनको प्रहार बीरगंजका डिफेण्डरले गोललाइनबाट क्लिएर गरेका थिए।

एनआरटीलाई अन्तिम चारमा पुर्‍याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए। उनले दश हजार नगदसहित ट्रफि प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत सोमवार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाविच तेस्रो क्वाटर फाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell