PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘ग्रुपिजमका कारण नेपालमा रंगमञ्च पछाडि पर्‍यो’



पहिलोपोस्ट

‘ग्रुपिजमका कारण नेपालमा रंगमञ्च पछाडि पर्‍यो’

काठमाडौं : नेपालमा ६२औँ ‘विश्व रंगमञ्च दिवस’ मनाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा यो दिवस मनाइएको हो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रतिष्ठानकी कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, प्राध्यापक तथा लेखक अभि सुवेदी, सुनील पोखरेल, घिमिरे युवराजलगायतका रंगकर्मीहरुको उपस्थिति थियो।

कार्यक्रममा किराँतीले रंगमञ्चले मनोरञ्जनका स्रोतको रुपमा काम गर्ने मात्र नभई समाज र जीवन परिवर्तनसमेत गर्ने बताए। समाज परिवर्तन गर्न रंगमञ्चको ठूलो योगदान रहेको उनको भनाइ थियो।

‘मलाई सम्पूर्ण कलाहरु मनोरञ्जनका लागि मात्रै हो जस्तो लाग्दैन। कला त जीवनको लागि हो, समाजका लागि हो। समाजका विंसङ्गतीसँग लड्ने प्रेरणा मिलोस् भनेर यो दिवस पनि आयोजना गरिएको हो’, किराँतीले भने, रंगमञ्च सधैँ जीवन र समाजका लागि हुनुपर्छ। समाज बदल्नको लागि हुनुपर्छ। नेपालमा पनि यदि कलाले समाज बदल्न योगदान नगरेको भए वा हाम्रा अग्रजहरुले समाजमा जनचेतनका अभियान नचलाएको भए समाज परिवर्तन हुने थिएन।’

कार्यक्रममा पेन्टिङ बनाउँदै अर्टिस्टहरु


त्यसैगरि, आकांक्षा कार्कीले युवा रंगकर्मीको प्रतिनिधित्व गर्दै नेपालको रंगमञ्चबारे कार्यक्रममा आफ्ना धारणा राखिन्। नाटक एकजनाको मेहेनतले नबन्ने बताउँदै नाटकमा सम्बन्धित सबैजनाले आफ्नो सोचेर काम गर्दा मात्रै नाटक बलियो बन्ने उनको तर्क छ।

उनले विश्व रगंमञ्चको नेपाली सम्पूर्ण रंगकर्मीहरुको उल्लेखनीय योगदान रहेको बताइन। भनिन्, ‘हाम्रो रंगमञ्चको लामो इतिहास छ। जसमा सम्पूर्ण रंगकर्मीको उल्लेखनीय योगदान छ। अहिले रंगमञ्चको परिभाषा बढ्दै गइरहेको छ। बुझाइ र सिकाइमा परिमार्जित हुन जरुरी छ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। महिला रंगकर्मीलाई कोटामा मात्रै होइन साच्चिकै समावेश गरौँ। स्वतन्त्र रंगकर्मीहरुको हितमा सोच्ने र निर्धक्क भएर आफ्नो ठाउँको कुरा राख्ने वातावरण बनाउन जरुरी छ।’

रंगकर्मीबिच समूहवाद हाबी हुँदा नेपालको रंगमञ्च पछाडि परेको कुलपति निशा शर्माको दाबी छ। ‘आज यो कार्यक्रममा भनेजति रंगकर्मीहरु उपस्थिति हुनुभएन। नेपालमा रंगमञ्च पछाडि पर्नुको कारण हामी ग्रुपिजममा बाडिएका छौँ। जसले हामी एकअर्कासँग नमिल्ने अथवा सहकार्यमा नजाने पनि देखिएको छ। त्यो देखेर नै मैले यो विश्व रंगमञ्च दिवस मनाउने कार्यक्रम राखेकी हुँ। सबैलाई एकैठाउँमा भेटाउने यसको मुख्य उद्धेश्य पनि हो।’

कार्यक्रमको आयोजना नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र माला आर्टस् एकेडेमीले गरेको हो। प्रतिष्ठानको प्रांगणमा कलाकारहरुले ‘पर्फमिङ आर्ट्स्’ समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा ‘पर्फमिङ आर्ट्स्’ प्रस्तुत गर्दै कलाकारहरु


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell