PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाली लगाउन दिएको गुठी संस्थानको जग्गाबाट धमाधम माटो उत्खनन्!



राधेश्याम पटेल

बाली लगाउन दिएको गुठी संस्थानको जग्गाबाट धमाधम माटो उत्खनन्!

वीरगंज : गुठी संस्थान वीरगंजले संस्थानको ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन् र ठेक्काको दुरुपयोग गर्नेमाथि कडा कारवाही गर्ने दाबी गरेको छ। आइतवार वीरगंज महानगर पालिकाले अनुमाति बेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो। अवैध उत्खनन् गरेको जग्गा गुठी संस्थानको हो। गुठी संस्थान वीरगंजका प्रमुख चुडामणि घिमिरे र वीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन् भैरहेको जग्गाको सोमवार स्थलगत निरीक्षण गरेका छन्। महानगरपालिका वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको स्थानीयले बताए।

दर्दवास्थित नदीको छेउबाट निरन्तर रुपमा उत्खनन् भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँनै जोखिममा परेका स्थानीय रामाज्ञा राउतले बताए। अर्को स्थानीय रामाधार प्रसाद पटेलले साविक एलानी पर्ती र गुठीको करिब ५२ बिगहा जग्गामा छठ घाट, श्मशान घाट, गौचन रहेको र अहिले गुठी संस्थानले उक्त जग्गा बाली लगाउन ठेक्कामा दिएकोमा आफू खुशी माटो कटान गरि प्रति टिपर १ हजारमा दैनिक २ सय टिपर माटो खन्न करिब २ महिनादेखि गरिरहेको बताए।

गुठी संस्थान वीरगंजका कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताए। उनले करिब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउँ नै डुबानमा हुने देखिन्छ त्यसैले कडाभन्दा कडा कारवाही गरिने बताए।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगंजको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell