PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बारा २ मा सत्तारुढ दलबीच नै हानथाप : उपेन्द्रलाई जसरी पनि हराउने सीके राउतको मिसन!



राधेश्याम पटेल

बारा २ मा सत्तारुढ दलबीच नै हानथाप : उपेन्द्रलाई जसरी पनि हराउने सीके राउतको मिसन!

वीरगंज : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचत हुँदैछ। उक्त क्षेत्रमा वैशाख १० गते उपचुनाव हुने कार्यतालिका रहेको छ। उपचुनावको तयारी चलिरहँदा गत आम निर्वाचनमा हार व्यहोरेका मधेश केन्द्रित दलका शीर्ष नेताहरु यस क्षेत्रबाट चुनाव लड्ने चर्चा सुरु भइसकेको छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट वरिष्ठ नेता राजेन्द्र महतोले उपचुनाव लड्ने आन्तरिक तयारी गरिरहेको चर्चा छ।

अर्कोतर्फ डा. सिके राउत नेतृत्वको जनमत पार्टी र प्रभु साहको आम जनता पार्टी (आजपा)ले पनि यादव र महतोविरुद्ध आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेका छन्। आम निर्वाचनमा यादव सप्तरीमा डा. सिके राउत र महतो सर्लाहीमा महेन्द्रराय यादवसँग पराजित भएका थिए। उनीहरु अहिले बारा - २ बाट जितेर संसद प्रवेश गर्ने रणनीतिमा छन्। लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले बारा - २ बाट पार्टीका वरिष्ठ नेता महतोलाई चुनाव लडाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए।

जसपाका नेताहरुले बारा-२ बाट पार्टी अध्यक्ष यादवलाई नै उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्। पार्टीले केही दिनभित्रैमा निर्णय गर्ने उनले बताए। राष्ट्रिय राजनीति, मधेश आन्दोलनमा गरेको योगदानलगायतका विभिन्न कारणले यादवको आवश्यकता संसद्मा रहेको महसुस बाराका जनताले गरेको दाबी गुप्ताको छ। जनमत पार्टीका नेता बीपी साहले पार्टीले स्थानीय उम्मेदवारलाई उठाउने बताए। आजपाका प्रवक्ता सिवि साहका अनुसार उनको पार्टीले छिट्टै नै उम्मेदवारबारे टुंगो लगाउनेछ।

पार्टीभित्र आन्तरिक छलफल भइरहेको भन्दै उनले स्थानीय उम्मेदवारलाई पार्टीले टिकट दिने योजना रहेको सुनाए। उता जनमत र आजपाले उम्मेदवार कसलाई बनाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन्। यद्यपि दुवै दलले स्थानीय नेतालाई उम्मेदवार बनाउने विषयमा पार्टीको आन्तरिक छलफलमै रहेका छन्। बारा - २ मा लोसपा, जसपा, जनमत र आजपाको पकड बलियो रहेको छ। चारवटै दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने र राष्ट्रिय एवं ठूला दलको समर्थन प्राप्त गर्न सत्तारूढ गठबन्धनभित्र आन्तरिक छलफल थालेका छन्। यी चारवटै दल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारूढ गठबन्धनभित्र रहेका छन्।

रणनीति आआफ्नै

गठबन्धनको साझा उम्मेदवार बनेका रामसहाय यादव जसपाबाट निर्वाचित भएका थिए। अहिले उनी उपराष्ट्रपति भएपछि साझा उम्मेदवार भएर संसद् प्रवेश गर्ने रणनीति उपेन्द्रको रहेको छ। उपेन्द्रले बाराबाट निर्वाचित सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाए। यसैबीच बारा-२ बाट स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवलाई जसपामा भित्र्याए। अन्य स्वतन्त्र उम्मेदवारलाई समेत पार्टीमा भित्र्याउँदै उपेन्द्र निर्वाचन जित्ने अखडाको तयारी गरिसकेका छन्।

उता बुधवार जनमत पार्टीले कलैयामा बृहत् आमसभा गर्दै डा. सिके राउतले सप्तरीजस्तै बारामा पनि उपेन्द्रलाई पराजित गर्ने उद्घोष गरे। सप्तरीमा राउत र उपेन्द्रबीच प्रतिस्पर्धा भएको थियो। लोसपा र आजपाले समेत छिट्टै नै कलैयामा बृहत् आमसभा गर्ने आन्तरिक तयारीमा जुटेका छन्। जनमत र जसपालाई टक्कर दिनेगरी उनीहरू आमसभा गर्ने तयारी पार्टीको स्थानीय कमिटीले गरिरहेको छ। अहिले यी सबै दलको समर्थन केन्द्रमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई छ।

पछिल्लो मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनावमा उपराष्ट्रपति रामसहायले १३ हजार ४ सय २२ मत पाएका थिए भने कांग्रेस–माओवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनबाट माओवादीका उम्मेदवार शिवचन्द्र कुसवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए। त्यसैगरी, स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर ११ हजार २ सय ५० मत, रोशन यादवले १० हजार ७ सय ५० मत र अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका पाएका थिए।

स्वतन्त्र उम्मेदवारको छुट्टै गठबन्धन

गत निर्वाचनमा छुट्टाछुट्टै स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उम्मेदवारबीच समेत गठबन्धन बन्ने भएको छ। स्वतन्त्र उम्मेदवार रोशन, अरुण ज्ञवाली र माओवादीले पुनः टिकट नदिए शिवचन्द्रसहितका नेताले छुट्टै गठबन्धन बनाएर एउटा साझा उम्मेदवार उठाउने तयारी गरेका छन्। स्वतन्त्र उम्मेदवार रहेका रामकिशोर जसपामा प्रवेश गरिसकेका छन्।

माओवादीले जसपालाई समर्थन गर्ने चर्चा चलिरहेका बेला जिल्लामा माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्रले कुनै हालतमा उपेन्द्रलाई समर्थन नगर्ने निष्कर्षमा पुगेका छन्। छुट्टाछुट्टै स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनेहरूले गठबन्धन बनाएर कुनै एकलाई पुन उम्मेदवार बनाउने र उपेन्द्र, राजेन्द्रलाई हराउने रणनीतिमा छन्। निर्वाचन आयोगका अनुसार बारा २ सहित तनहुँ र चितवनमा समेत १० वैशाखमै उपनिर्वाचन हुनेछ। तनहुँ र चितवनमासमेत उम्मेदवार हुन विभिन्न पार्टीबीच आन्तरिक छलफलले तीव्रता पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell