PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी



पहिलोपोस्ट

जमलस्थित साँस्कृतिक संस्थानमा सुरु भयो बुद्ध थिएटर फेस्टिभल, चैत १७ गतेसम्म जारी

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सोमवारबाट सुरु भएको छ। जमलस्थित साँस्कृतिक संस्थानमा आयोजित कार्यक्रमबिच तेस्रो संस्करण सुरु गरिएको हो।

शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गरि बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन गरे।

कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डा.अभि सुवेदी लगायतका रंगकर्मीहरुको उपस्थिति थियो।

महोत्सव उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिएको थियो। अनुप उपस्थित नहुँदा उनकी श्रीमती दिया मास्केलाई पुरस्कार हस्तारण गरियो।

बुद्धको जीवन र दर्शनमा आधारित नाटकहरु मञ्चन गर्ने फेस्टिभलको आयोजना हुनु निकै राम्रो कार्य भएको प्रतिष्ठानका कुलपति राईले बताए।  बुद्धसम्बन्धि फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राईको थियो।  

'बुद्धको जीवनीमा आधारित नाटकहरु मञ्चन हुनु निकै राम्रो हो। बुद्ध संसार प्रसिद्ध व्यक्ति अर्थात दार्शनिक हुनुहुन्छ। तर, नेपाल भूमिमा जन्मेको बुद्धलाई हामीले राष्ट्रियकरण गर्न सकिरहेका छैनौँ। उहाँ यही देशमा समेत ओझेल पर्नु भएको छ,’ राईले भने, ‘साँच्चै नै हामीले बुद्धको जीवन र दर्शनलाई संसारभरि अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ। बुद्धलाई विभिन्न ढङ्गले साहित्य, फिल्म, नाटक, गीत, आख्यानमा समेटेर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ।’

त्यस्तै, लेखक अभि सुवेदीले फेस्टिभलको प्रशंसा गर्दै निरन्तरता दिन सुझाव दिए।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा आज नृत्य नाटिका ‘चण्डालीका’ समेत मञ्चन भएको थियो। जुन नाटक माया थापाको निर्देशनमा तयार भएको हो।

बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा कलाकार पुस्कर गुरुङले बताए। आगामी संस्करणदेखि महोत्सवलाई अन्तरार्ष्ट्रिय स्तरमा लैजानेसमेत उनको भनाई थियो।

चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन्। फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, साँस्कृतिक संस्थान र डबली थियटरको आयोजनामा शुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell