PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वाग्मती प्रदेशमा आइतबारसम्म सरकारले पूर्णता पाउने, 'कांग्रेस लामाको नेतृत्वमा सरकारमा जाने'



पहिलोपोस्ट

वाग्मती प्रदेशमा आइतबारसम्म सरकारले पूर्णता पाउने, 'कांग्रेस लामाको नेतृत्वमा सरकारमा जाने'

हेटौंडाः वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रीय गठबन्धनको भागबन्डा टुंगिनुपर्ने भएको छ। केन्द्रीय तहमा भागबन्डा मिलाउन नेपाली कांग्रेस, नेकपा (माओवादी) नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरु निरन्तर छलफलमा छन्। सोमबारसम्म केन्द्रमा मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।  

केन्द्रमा भागबन्डा टुंगिएपछि वाग्मतीमा पनि मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

वाग्मतीमा माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्री छन्। उनी यसअघि नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। दोस्रो पटकको विश्वासको मत भने वर्तमान सत्ता गठबन्धनका दलहरुबाट पाएका छन्।

१० चैतमा प्रदेश सभामा जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका थिए। विश्वासको मत पाएसँगै जम्कट्टेल सरकार विस्तारको तयारीमा पनि छन्।

‘हामी छलफलमै छौं। आइतबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’, जम्कट्टेलले भने।

मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समझदारीमै मिलाएर लैजाने बताएका छन्।

प्रदेशमा कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए। लामाले सरकारको नेतृत्व आफ्नो दलले पाए पाँच मन्त्रालय नपाए ६ वटामा अडान कायम रहने बताए। बाँडफाँटका लागि मंगलबार गठबन्धन दलहरुको बैठक बस्दैछ।

वाग्मतीमा ११ वटा मन्त्रालय संख्या छन्। जसमध्ये मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयलगायतका चार वटामा माओवादी केन्द्रका मन्त्री नै छन्। बाँकी ७ वटा मन्त्रालय बाँडफाँट हुनेछ।

कांग्रेसले ६ वटा मन्त्रालय पाए गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले एउटा मन्त्रालय पाउने देखिन्छ। समाजवादीले दुई मन्त्रालयमा दाबी गरेको छ। एकीकृत समाजवादीका सांसद कृष्णप्रसाद शर्मा खनालले २ वटा मन्त्रालय भागमा पर्नुपर्ने बताए।

प्रदेश सभामा २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि एक मन्त्रालय दाबी गरेको छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हाम्रो नेपाली दल सरकारमा जान इच्छुक रहेको संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बताए।

दलहरुले मन्त्रालयमा दाबी सुरु गरिसकेपछि सरकार विस्तारमा मुख्यमन्त्री जम्कट्टेललाई सकस हुने देखिन्छ। मुख्यमन्त्री आफैंले हाल ७ मन्त्रालय सम्हाल्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell