
अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
गोलीकाण्डमा मारिनेमध्ये तीन जना कभेनेन्ट स्कुलका नौ वर्ष र सोभन्दा कम उमेरका विद्यार्थी थिए। उनीहरुको नाम एभलिन डिकहस, हेली स्क्रग्स र विलियम किन्नी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, ६१ वर्षीया सिन्थिया पीक, ६० वर्षीया क्याथरिन कुन्से र ६१ वर्षीय माइक हिल पनि गोलीकाण्डमा मारिकएका छन्। निजी क्रिश्चियन विद्यालयमा करिब २०० विद्यार्थी छन्। यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरूलाई पढाइन्छ।
सिन्थिया पीक त्यो दिन विद्यालयमा वैकल्पिक शिक्षिकाको रुपमा कार्यरत थिइन्। माइक हिल एक चौकीदार थिए भने कोभेनेन्टको वेबसाइटका अनुसार क्याथरिन कोन्से विद्यालय प्रमुख थिइन्।
संदिग्ध २८ वर्षीय अड्रे हेल रहेको प्रहरीले बताएको छ। अड्रेले आफूलाई ट्रान्सजेन्डरको पहिचान दिइएको बताइएको छ।
अड्रेसँगएक सेमी अटोमेटिक राइफलसहित तीन बन्दुक रहेको र प्रहरीले उनलाई गोली हानी मारेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। स्थानीय समय अनुसार सोमवार बिहान १० बजेर १३ मिनेटमा प्रहरीलाई घटनाबारे पहिलो फोन आएको थियो।
अड्रे होन्डा फिटमा विद्यालयमा गएको र विद्यालयको एउटा ढोकाबाट गोली हानेर भित्र पसेको बताइएको छ। उनले भवनको माथिल्लो तल्लामा जानुअघि भुइँ तल्लामा गोली चलाएको प्रहरीले जनाएको छ।
प्रहरीको कारहरू विद्यालयमा आइपुग्दा अड्रेले दोस्रो तलाबाट उनीहरूमाथि गोली चलाएको र एउटा गोली कारको सिसामा लागेको प्रहरीले जानकारी दिएको छ। सिसा फुट्दा एक प्रहरी घाइते भएका छन्। प्रहरी विद्यालयभित्र पसेर करिब साढे १० बजेतिर संदिग्धलाई गोली हानेर मारेका थिए।