PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बालेनले भने : माइतीघरले न्याय दिने होइन, मिटरब्याजी पीडितलाई खुलामञ्चमा शिविर बनाएरै राख्न खोज्नु शंकास्पद



पहिलोपोस्ट

बालेनले भने : माइतीघरले न्याय दिने होइन, मिटरब्याजी पीडितलाई खुलामञ्चमा शिविर बनाएरै राख्न खोज्नु शंकास्पद

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले मिटरब्याजी पीडितहरुलाई खुलामञ्चमा शिविर बनाएरै राख्न खोज्नु शंकास्पद रहेको बताएका छन्। खुलामञ्च निषेधित क्षेत्र नभएको र कहिल्यै नहुने भन्दै मेयर बालेनले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न लागिएको दाबी गरे।

बालेनले भनेका छन्, ‘शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो । यसो नगरि सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’

सोमवार मिटरब्याजी पीडितहरुले खुलामञ्चमा प्रवेश गर्न खोज्दा महानगर प्रहरीले रोकेको थियो। सो क्रममा पीडित र महानगर प्रहरीबिच घम्साघम्सी समेत भएको थियो। बालेनले भने खुलामञ्चमा बस्नु विकल्प नभएको भन्दै न्यायका लागि भने पहल गरिरहनुपर्ने बताएका छन्।

उनले भने, ‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो। यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनु पर्ने हो। पीडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो।’

मिटरब्याजी पीडितहरुको यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभएको भन्दै बालेनले उनीहरुलाई न्यायको लागि बालुवाटार जान समेत सुझाएका छन्। बालेनले यो आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएका छन्। तर, स्थानीय समस्या भने स्थानीय सरकारबाटै समाधान हुनुपर्नेमा उनको जोड छ।

‘स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनु पर्छ। नभएर माथिल्लो सरकारमा आइपुगे पछि हदैसम्म शिघ्रता देखाएर समाधान हुनु पर्छ। रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ,’ बालेनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell