PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भुटानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा नेपाल : किरण र चेन्चोको ठट्टामा को सही होला?



पहिलोपोस्ट

भुटानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा नेपाल : किरण र चेन्चोको ठट्टामा को सही होला?

काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे यी दुई टोली आमनेसामने हुनेछन्।

तीन देश सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलअन्तरले हराएको थियो भने भुटान लाओससँग २-१ गोलअन्तरले पराजित भएको थियो। आजको खेलमा जित या बराबरीको नतिजा निकाल्न सके नेपालले फाइनलमा स्थान पक्का गर्नेछ भने फाइनल प्रवेशका लागि भुटानलाई जित आवश्यक हुनेछ।

खेलाडी विदेशिँदा टिममा लय मिलाउनै आपत

नेपाली टोलीमा लामो समययता प्राय: पहिलो रोजाइमा देखिँदै आएका सुमन अर्याल, दिनेश राजवंशी, आशिष लामा,अभिषेक रिजाल, तेज तामाङ, सुजल श्रेष्ठलगायतका खेलाडी अहिले नेपाली राष्ट्रिय टोलीमा छैनन्। राष्ट्रिय टोलीमा अधिकांश नयाँ अनुहार छन्। अझ प्रशिक्षक नै नयाँ छन्।

सन् २०१९ को दक्षिण एसियाली खेलकुदसँगको तुलना गर्दा हालका भुटानी कप्तान चेन्चो ग्याल्चेनको ओलम्पिक टोलीले फाइनल खेलेको थियो। तर, फाइनल जितेको थियो सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले। त्यतिबेला फाइनल र लिगचरणमा गरि दुईवटा खेलमा नेपालले भुटानविरुद्ध ६ गोल गरेको थियो। त्यो ६ वटै गोल गर्ने खेलाडी हाल नेपाली टोलीमा छैनन्।  उनीहरु अस्ट्रेलिया पलायन भइसकेका छन्।

यता, सिनियर स्तरमा प्रतिस्पर्धा गर्न भुटानी टोली आएको छ। प्रतियोगिताको पहिलो खेलमा लाओसमाथि नेपालले जित निकाले पनि प्रदर्शन सन्तोषजनक नभएको उक्त खेलका 'म्यान अफ दी म्याच' बनेका अनन्त तामाङले बताएका थिए।

‘अभ्यासमा राम्रै भइरहेको थियो। त्यही मोमेन्टमा गोल भए। तर, खेल सन्तोषजनक थिएन’, तामाङले भनेका थिए, ‘तयारीको लागि पनि समय थिएन। नयाँ खेलाडी धेरै हुँदा सोचे जति भएन। अलि पछाडि बसेर खेलेका थिएनन्। बल पोजेसन राख्न नसके पनि जितका कारण राम्रै भयो।’

चेन्चोतिर संकेत गर्दै तामाङले भुटानसँग केही उत्कृष्ट खेलाडी रहेकाले लाओससँग भन्दा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका थिए।

भुटानसँग नेपालको अर्को खेल आज छ। भुटानको टोलीमा अझ सशक्त खेलाडी भएकाले अनन्त तामाङ टिममा अझै सुधार गर्न आवश्यक देख्छन्।

‘भुटानमा अझ क्वालिटी खेलाडी छन्। हाम्रो खेलमा कम्युनिकेसन कम भएको छ। यतिले पुग्दैन’, उनी भन्छन्, ‘हामीले अझै अट्याकिङ थर्डमा काम गर्नुपर्छ। पोजिसन वाइज सुधार गर्न पर्छ।’

चेन्चो भर्सेस किरण

दक्षिण एसियाली फुटबलको शक्ति केन्द्र हो भारत। भारतको दोस्रो डिभिजनको आईलिगमा यसपाला च्याम्पियन बन्यो राउण्डग्लास पञ्जाब। च्याम्पियन बन्दै शीर्ष डिभिजन इण्डियन सुपर लिगमा पनि प्रवेश गर्न सफल भयो त्यो टोली।

भारतीय लिगमा पञ्जाबलाई सफल बनाउन महत्वपूर्ण योगदान रह्यो नेपाली कप्तान किरण चेम्जोङ र भुटानी कप्तान चेन्चो ग्याल्चेनको। किरणले लिगकै उत्कृष्ट गोलकिपर पनि बने। तर, आईलिग सकिएको एक महिना नबित्दै यी दुई खेलाडी आमनेसामने हुँदैछन्। विपक्षी कप्तानका रुपमा।

टिममा छँदा किरण र भुटानी रोनाल्डोका नामले परिचित चेन्चोबिच गोलको विषयलाई लिएर मजाक चल्ने गरेको प्रतियोगिता अघि सुनाएका थिए चेम्जोङले।

‘राष्ट्रिय टोलीको विषयमा पनि कुरा हुन्छ। म टिम जोगाउँछु। गोल गर्न दिन्न भनेर कुरा हुन्छ। तिमी स्कोर गर्न सक्दैनौँ भनेर मजाक चल्छ,’ चेम्जोङ भन्छन्, ‘बाहिर जति नै जोकिङ चले पनि अन्तिममा हामी आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने हो।’

चेन्चोले पनि आई-लिग खेल्दा मजाक चल्ने गरेको सुनाए।

उनले ‘म गोल गर्छु, म गोल गर्न दिन्न’ भनेर किरणसँग मजाक चल्ने गरेको सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell