
काठमाडौं: प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ बाट डेब्यु गरेका हुन् अरुण क्षेत्रीले। ‘महापुरुष’मा छोराको भूमिकामा देखिएका अरुणको अभिनयको समेत चर्चा भयो।
डेब्यू फिल्मबाट नै सफलताको स्वाद चाखेका अरुण फेरि ठूला पर्दा आउँदैछन। अरुणको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमा’ चैत १७ गतेबाट प्रदर्शन हुँदैछ। जसकारण पनि ‘प्रेमा’ को व्यवसायिक पाटो अरुणका लागि चुनौतीको विषय हो।
यसैबिच, आज एक कार्यक्रममा अरुणलाई पत्रकारले ‘महापुरुष’ को व्यवसायिक कुरा जोड्दै कतिको प्रेसर फिल भइरहेको छ? भनि प्रश्न तेर्साए।
जवाफमा अरुणले भने, ‘प्रेसर भएको छैन। किनकी फिल्मको टिम राम्रो छ। मलाई टिममाथि पूरा विश्वास छ। साथै मैले पनि राम्रो काम गरेको छु। जसकारण फिल्मले राम्रो व्यापार गर्छ भन्ने विश्वास छ।’
साथै, फिल्म सफल हुनुमा टिम बलियो हुनुपर्ने तर्क छ क्षेत्रीको।
‘फिल्म सफल हुने/नहुने टिमको नै हातमा हुन्छ। कथा कसले लेखेको हो र कसले निर्देशन गरेको हो। टिम बलियो हुँदा नै फिल्म सफल हुने हो’, उनले भने, ‘हामी कलाकार भनेको सेकेन्डरी कुरा हो। कलाकारले टिमलाई नै विश्वास गरेन भने रिजल्ट कसरी राम्रो निस्किन्छ? जसकारण फिल्मको सफलताको श्रेय टिमलाई नै जान्छ।’
‘प्रेमा’ छायाङ्कनका हिसाबले अरुणको लागि दोस्रो फिल्म हो। ‘ज्याकी: आइ एम २१’ पहिलो भए पनि ‘महापुरुष’ रिलिजको हिसाबले उनको डेब्यू फिल्म बन्न पुग्यो।
जापानमा बस्दै आएका अरुणले फिल्म करियरकै लागि नेपाल आए। अभिनयको ट्रयाकमा दौडिसकेको बताउँदै उनले जापान छोडेकोमा कुनै पछुतो नभएको दाबी गरे।