
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले ३ मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको छ। मन्त्रीको नाम भने टुंगो नलागेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए। 'प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं। सिटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौ,' उनले भने। एकीकृत समाजवादीको सचिवालयको बैठकले मिटर ब्याज पीडितको आन्दोलनमा एक्यबद्धता जजनाउने पनि निर्णय गरेको छ।
पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ। आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्रिपरिषदको भागबण्डाका बारेमा छलफल गरेका थिए। उक्त वार्तामा उपप्रधानसहित ३ मन्त्रालयको माग गरेको बैठकमा नेपालले ब्रिफिङ गरेका थिए। प्रचण्ड ३ मन्त्रालय दिन सकारात्मक भएको नेपालले बताएका थिए। यस्तै प्रदेशमा पनि कम्तीमा एउटामा मुख्यमन्त्री पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ।