PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिर्सिया नदी प्रदुषण गर्नेमाथि कारवाहीको डण्डा चलाउँदै वीरगंज महानगर, पाँच वटा उद्योगलाई तोकियो १५ लाख जरीवाना



राधेश्याम पटेल

सिर्सिया नदी प्रदुषण गर्नेमाथि कारवाहीको डण्डा चलाउँदै वीरगंज महानगर, पाँच वटा उद्योगलाई तोकियो १५ लाख जरीवाना

वीरगंज : वीरगंज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगंजका पाँच वटा उद्योगलाई १५ लाख रुपैयाँ जरीवाना तोकिएको छ। महानगरपालिकाले वीरगंज - पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना तोकिएको हो। महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि ट्याक्सटायल्स प्रालि, मरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३-३ लाखका दरले जरीवाना गरेको हो।

नदी प्रदुषित गरेका पाँचवटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। ७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुनअनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ।

वीरगंज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदुषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए।

यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैया जरिवाना तिराएको थियो।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगंज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाइरहेको छ। उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटकपटक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सीधै नदीमा फाल्दै आएको भेटिएको थियो। त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदी प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो।

महानगरले लिखित रुपमै चेतावनी दिँदासमेत अटेरी गरि उद्योगका फोहोर र रसयानयुक्त पानी सिधै नदीमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए।

उनले भने, ‘ सिर्सिया नदी वीरगंज शहरकै लाइफलाइन हो, त्यसकारण यो नदीलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ, नदीलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन।'

अनुगमन जारी रहने र नदीलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि मेयर सिंहले बताए।

बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनको मुहानबाट बग्ने र्सिसिया नदी पर्साको वीरगंज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ। औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, ट्याक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो।

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगंज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदी छेउका स्थानीय बताउँछन्।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ मा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो।

रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदी प्रदुषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो।

समितिले २०६७ मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो। सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताले निरन्तर दबावमूलक कार्यक्रम गर्दै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell