PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क स्थापना गर्ने



पहिलोपोस्ट

पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क स्थापना गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो।

नेपाली चलचित्र उद्योगले सामना गरिरहेको पाइरेसीबाट छुटकारा पाउन यो डेस्कको स्थापना गरेको बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए। साथै, फिल्म पाइरेसी हुँदा निर्माताहरुले ठूलो नोक्सान भइरहेको उनको भनाइ छ।

‘टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ। यद्यपि, यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ। हामीले नेपाली चलचित्रहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखेका छौं, जसले यस उद्योगलाई ठूलो नोक्सान पुर्‍याएको छ। यसबाहेक हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमलाहरू हुने गरेका छन्। यी चुनौतीहरुलाई सम्बोधन गर्न नै बोर्डले यो डेस्क स्थापना निर्णय गरेको हो।’

नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न बोर्डले नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने केसीले बताए।

‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन र यसको लागतबारे आगामी आर्थिक वर्षको बजेट विनियोजनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोर्डले प्रस्तावना पेश गरिसकेको छ। अध्यक्ष केसीले बोर्डलाई डिजिटल प्रविधिमा लैजान लागेको योजना समेत सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell