PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अनि भुटानका प्रशिक्षकलाई बिस्मात पर्‍यो, ‘त्यो कर्नर नभइदिएको भए... !’



मुकुन्द घिमिरे

अनि भुटानका प्रशिक्षकलाई बिस्मात पर्‍यो, ‘त्यो कर्नर नभइदिएको भए... !’

काठमाडौं : प्रधानमन्त्री थ्री नेशन्स कपमा मंगलवार भुटान नेपालसँग बराबरी खेल्दै बाहिरियो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा लाओससँग २-१ गोलको पराजय ब्यहोरेको भुटानले मंगलवार नेपालसँग १-१ गोलको बराबरी खेल्यो।

बराबरीका बावजुत भुटानका लागि यो नतिजा ऐतिहासिक थियो। नेपालका लागि भने लज्जास्पद। खेल अवधिभर भुटान हाबी हुँदा खास गरी पहिलो हाफमा त नेपालको खेल अति नै असन्तुलित देखिएको थियो।

‘पहिलो हाफमा हामी अलिकति कोल्याप्स नै भएका थियौँ। मिसपास थियो। मिडफिल्डमा राम्रो थिएन। गल्तीहरु भएका थिए’, नेपाली टोलीका कप्तान किरण चेम्जोङले कमजोरी स्वीकार्दै भने, ‘अन्तिम समयसम्म फाइट गर्न पर्‍यो। अट्याकिङमा धेरै सुधार पनि भएको छ। पहिलो हाफमा अफ थियौँ। सब्स्टिच्युटपछि हाम्रो पोजिसन अवसरहरु बनाएका थियौँ।’

खेलको २०औँ मिनेटमा भुटानले तेन्जिन नोर्बुको गोलमा अग्रता बनाएको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। ३७औँ मिनेटमा अनन्त तामाङको प्रहार आकाशिएको थियो भने पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै अन्जन बिस्ट चोट ब्यहोर्दै बाहिरिए।

खेलको ६९औँ मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार गोल पोस्ट माथिबाट गएको थियो। ७७औँ मिनेटमा मनिष डाँगीको प्रहार पनि गोलमा परिणत हुन सकेन। खेलको अन्तिम मिनेट बाँकी छँदा ठकुरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। फितलो प्रदर्शन गरेको नेपालका लागि यो टर्निङ प्वाइन्ट थियो।

‘होममा ड्र खेल्न पुग्यौँ। पहिलो हाफमा ओभरकन्फिडेन्ट पनि भयौँ। अवसरहरु दोस्रो हाफमा बनायौँ’, नेपाली टोलीका कप्तान चेम्जोङले भने, ‘खेलाडी पलायन आफ्नो ठाउँमा छ। नयाँ खेलाडी आएको छ। दुई दिनको ट्रेनिङ गरेर सिरिज खेल्दैछौँ। हारेको भए भुटानसँग हार्‍यो भन्ने हुन्थ्यो। जुनियर भाइहरुले डेब्यू गरिरहेको छ। टिममा सम्हालेर जाने अवस्था छ।’

त्यो कर्नर नभइदिएको भए...

खेल अवधिभर भुटानले बलियो पोजिसन बनाउन सफल भयो। उनीहरुबिचको समन्वय पनि राम्रो भइरहेको थियो। यता नेपालको खासगरी मिडफिल्डले डिफेन्स र फर्वाडसँग तालमेल मिलाउनै संघर्ष गरिरहेको थियो। जसको फाइदा उठाउँदै भुटानी टोलीले आक्रमण बुन्न सफल भयो।

‘केटाहरुले योजनामा काम गर्‍यो। अन्तिममा कर्नरमा 'कन्सिस्टेन्सी लुज' गर्‍यो। त्यो कर्नर नभएको भए चाहीँ...’, लामो सास फेर्दै भुटानी प्रशिक्षक दोर्जीले भने, ‘दु:ख लाग्छ सबैलाई, जितेको खेल अन्तिम मिनेटमा गोल खाँदा।’

उनले भने : बलियो भएर आउँछौँ।

भुटानी टोलीका पूर्व खेलाडी दोर्जीले प्रशिक्षकको जिम्मेवारी यो प्रतियोगितापछि छाड्दैछन्। र, प्रो लाइसेन्सका लागि उनी बाहिर जाँदैछन्।

पूर्व खेलाडी समेत रहेका उनले नेपालको प्रदर्शन पहिला भन्दा कमजोर देखिएको बताए।

‘नयाँ कोच आको छ। प्लेयर बाहिर छ। खेलाडी नयाँ छ। भन्न सक्दैन। नेपालको टिम जवान छ। कोचसँग 'युज टू' हुन समय लाग्छ’, पुराना कुरा सम्झँदै नेपालीमै उनले भने, ‘हामी खेल्दा सँधै हार्थ्यो। इतिहासमा पहिलो पटक हो बराबर भएको। नेपालको प्रदर्शन अलि कमजोर भएको जस्तो लाग्यो।’

भुटानले नेपाललाई हराउला त? उनले कुटनीतिक जवाफ दिँदै भने : जित्ने भन्नु सक्दैन।

‘हाम्रो खेल माथि भएको जस्तो छ। नेपाललाई डोमिनेट गर्‍यो। बल पोजिसनवाइज। नेपालसँग ड्र गरेर खुशी छु। यो हाम्रो लागि इतिहास हो,’ उनले भने।

नेपालका प्रशिक्षक अल्बेर्टो भिन्सेन्जो एनिस भने अघिल्लो खेलको तुलनामा खेल सुध्रिएको दाबी गरिरहे।

‘महत्वपूर्ण भनेको हामी फाइनल पुगेको छौँ। पहिलो खेलको तुलनामा राम्रो गरेका छौँ’, उनले भने, ‘अघिल्लो खेलको तुलनामा राम्रो भयो। सुधार धेरै भएको हो।’

भुटानले खेलमा डोमिनेट धेरै गर्‍यो नि भन्ने सन्दर्भमा प्रतिप्रश्न गरे : यो प्रश्न लाओससँगको खेलमा किन नगरेको?

सुधार चाहीँ के भयो त भन्ने प्रश्नमा एनेसले तीन पक्ष उल्लेख गरे।

‘अर्को दिन फेरि हामी हेर्ने छौँ। पहिलो पोजिसन होल्ड, दोस्रो क्रिएटिङ चान्स र टिम कम्युनिकेसनमा सुधार आएको छ’, उनले दाबी गरे, ‘डिफेन्सिभ मिस्टेकका लागि हामीले पे गरिसकेका छौँ।’

कप्तान किरण चेम्जोङले भने अन्त्यमा भित्रि कुरा खोल्दै नियमित खेलाडी विदेशिँदा टिममा सन्तुलन मिलाउन कठीन भइरहेको स्वीकारे।

‘म कप्तानका रुपमा नयाँ खेलाडीसँग छु। टिमलाई अहिले सम्हालेर लैजाने समय छ। कस्तो अवस्थामा छ भन्ने सबैलाई थाहा छ’, उनले भने, ‘सबैको आ-आफ्नै बाध्यता छ। जुनियर भाइहरु लिएर हिँडिरहेको छु।’

चेम्जोङले भने : फाइनलका लागि तयार हुनुछ। यसमा जे भयो सकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell