काठमाडौँ: विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा भारतको लुका सकर र विराटनगर सिटी एफसी भिड्ने भएका छन्। मंगलवार बेलुका शहीद रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा लुक सकरले साविक विजेता एपीएफलाई हराएसँगै फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। त्यसअघि पहिलो सेमिफाइनलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएको लुकाले विराटनगरको शहीद रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफ पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउन सफल भयो।
निर्धारित र अतिरिक्त दुवै समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो। पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक रहे। उनले म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पनि पुरस्कार पाएका छन्।
उनले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोकेका थिए। यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई जित्न सहज भयो।
एपीएफका दीपेश धीमाल र सविन गुरुङले मात्र गोल गरेका थिए। लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गरेका थिए भने लुकाका क्यामुदिनको प्रहार भने एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए।
प्रतियोगिताको उपाधिका लागि लुका सकरले घरेलु टोली विराटनगरसँगै खेल्ने छ। फाइनल खेल विहीबार हुने छ।