युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन स्कटल्याण्डसँग पराजित भएको छ। स्कटल्याण्डस्थित हम्पडेन पार्कमा सम्पन्न समूह 'ए'को खेलमा घरेलु टोली स्कटल्याण्डले स्पेनमाथि २-० गोलको जित निकालेको हो।
घरेलु टोलीलाई जित दिलाउन स्कट म्याक टोमिनिले दुई गोल गरे। उनले खेलको ७ औँ र ५१ औँ मिनेटमा गोल गरेका हुन्।
जितसँगै स्कटल्याण्ड दुई खेलमा दुईवटै जित निकाल्दै समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको स्पेनको २ खेलबाट ३ अंक छ भने तेस्रो र चौथो स्थानमा रहेका जर्जिया र नर्वेको समान १ अंक छ। गएराति सम्पन्न खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए। त्यस्तै तालिकाको पाँचौँ स्थानमा साइप्रस छ।