सिमरा : विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेको हो।
रोमाञ्चक जितसँगै चर्च ब्वाइजले न्युरोड टिम एनआरटीसँगको सेमिफाइनल भेट पक्का गर्यो। फाइनल प्रवेशका लागि चर्च ब्वाइजले बिहीवार एनआरटीको सामना गर्नेछ।
एपीएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३औँ मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपीएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ। श्याम नेपालीले डिबक्सभित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिँदै सन्तोषले टिमलाई अग्रता दिलाएका थिए।
सन्तोषको एयर बलले जाली चुम्दा चर्च ब्वाइजका अफ्रिकी गोल रक्षक प्रिसोले बचाउको प्रयाससम्म गर्न पाएनन्। चर्च ब्वाइजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक-एक गोल गरे।
खेलको ३१औँ मिनटमा चर्च ब्वाइजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए। रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प्ट गरेका सन्तोषको प्रहार एपीएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।
बराबरीपछि आक्रामक बनेको चर्च ब्वाइज पहिलो हाफमै अग्रता बनाउन सफल भयो। खेलको ४३औँ मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइभिङ हेडरमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। सुवास गुरुङको क्रसबलमा रञ्जितको स्मरणीय गोलपछि चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाँई दङ्ग देखिन्थे।
दोस्रो हाफ गोलरहित बनेपनि दुवै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित हजारौँ दर्शक आ-आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिमसम्म प्यारापिटमै बसे।
खेलको एभरेष्ट बैंक म्यान अफ द म्याच चर्च ब्वाइजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए। उनले ट्रफी र दश हजार नगद प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ।