PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

निसीखोला गाउँपालिकाले बीमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित



रासस

निसीखोला गाउँपालिकाले बीमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित
फोटो : निसीखोला गाउँपालिका

गलकोट : निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो।

निसीखोला-१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे। गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको भन्दै पूर्ण शुल्क तिरेरमात्र उपचार हुने बतायो। उनी उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेर घर फर्किए।

विक मात्र होइन, यतिबेला निसीखोलाले फागुनदेखि लागू हुने गरी बीमा गरेका स्थानीय सुविधाबाट बञ्चित छन्। गाउँपालिकाले बीमा गरिदिए पनि रकम समयमै भुक्तानी नगरेका कारण उनीहरु सेवाबाट बञ्चित भएका हुन्।

गत असारमा सम्पन्न दशौँ गाउँसभाले गाउँपालिकाका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो। सोहीअनुसार गाउँपालिकाले पाँच हजार चार सय परिवारका लागि राजस्व बाँडफाँटबाट दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।

पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको स्वास्थ्य बीमा गर्ने गरी विवरण सङ्कलन गरिएको थियो। गाउँपालिकाले हालसम्म पहिलो चरणको ६४ लाख रुपैयाँ बीमा रकम भुक्तानी गर्न नसक्दा बीमा गरेका नागरिक पनि सुविधाबाट बञ्चित भएका हुन्।

सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट नागरिकको बीमा गर्ने निर्णय गरे पनि सङ्घ र प्रदेशबाट समयमै बजेट नआउँदा रकम भुक्तानी गर्न नसकिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए। गाउँपालिकाले असोज, कात्तिक र मंसिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए।

सङ्घीय सरकारबाट केही दिन अघि ५५ लाख रुपैयाँ प्राप्त भएको र चाँडै एक करोड रुपैयाँ भुक्तानी गर्ने तयारीमा रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत दिलीप कुमार चन्दले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell