वीरगंज : म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गरेको अभियोगमा पर्साको वीरगंज महानगरपालिका-१३ स्थित दुई उद्योग संयुक्त अनुगमन टोलीले सिल गरेको छ। अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगंज महानगरपालिका-१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो।
घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेबलिङ’ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगंज र वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।
सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिष कुमार चौधरी, वीरगंज-७ निवासी २३ वर्षीय आयुष अग्रवाल र वीरगंज-१४ निवासी ३८ वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई पक्राउ गरिएको छ। उद्योगका सञ्चालक भने फरार छन्। दुवै उद्योगबाट करिब ९१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए।