काठमाडौं : नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी बैशाख १ गतेदेखि छायाङ्कनमा 'सिफ्ट सिस्टम' कार्यान्वयन गर्ने निर्णय गरेको छ। फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको 'सिफ्ट सिस्टम' तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो।
नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागू गर्न लागिएको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।
जसअनुसार अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राती ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नुपर्नेछ। अतिरिक्त समय काम गरेको खण्डमा प्राविधिकलाई निर्माताले थप पारिश्रमिक दिनुपर्नेछ। विदेशी फिल्म उद्योगमा भने ८ घण्टाको नियम अभ्यासमा छ।
२०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने भनिएता पनि कोरोना महामारीले रोकिएको लामा बताउँछन्। सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सरोकारवाला निकायसँग नेफ्टाले सहकार्य गर्नेछ।
त्यसैगरि, बैशाख १ गतेदेखि नै नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा नपाउने भएका छन।
‘प्राविधिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै दैनिक आइपर्ने समस्यालाई न्यूनीकरण गर्न यो नियम ल्याउन लागेका हौं। अब कार्ड भएकाले मात्र काम गर्न पाउने समझदारी भएको छ। कार्ड बनाएर काम गर्दा प्राविधिक र निर्मातालाई दुबैलाई सजिलो हुने हाम्रो आशा छ,’ उनले भने।
तेस्रो कार्यकाल संस्थाको नेतृत्व गरिरहेका लामाले प्राविधिकको हकहित र फिल्मको अन्तर्राष्ट्रियकरणलाई प्रमुख एजेण्डा बनाएका छन्। यसबाहेक प्राविधिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेदेखि प्राविधिकको क्षमता अभिवृद्धि गर्ने तथा अवार्डमार्फत विदेशमा नेपाली फिल्मको बजार खोज्ने उनको योजना छन्।