PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बारा २ बाट उम्मेदवारी दिन माओवादी छाडेर जनमत पसे शिवचन्द्र, कांग्रेसले सघाए पनि उपेन्द्र हार्ने सीके राउतको दाबी



राधेश्याम पटेल

बारा २ बाट उम्मेदवारी दिन माओवादी छाडेर जनमत पसे शिवचन्द्र, कांग्रेसले सघाए पनि उपेन्द्र हार्ने सीके राउतको दाबी

वीरगंज : बारा २ मा उपनिर्वाचन लड्न माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्। कुशवाहालाई जनमतका अध्यक्ष डा सीके राउतले बुधवार स्वागत गरे।

जनमत उपनिर्वाचनमा कुशवाहालाई उम्मेदवार बनाउने गरी पार्टीमा प्रवेश गराएको हो। गत निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहाय प्रसाद यादवसँग मात्र ३ सय ५४ मतले पराजित भएका कुशवाहा यसपटक जनमत पार्टीबाट उम्मेदवार भन्ने भएका छन्। रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसँग सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा दोब्बरभन्दा बढी मतले पराजित भएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट उपचुनाव लड्न रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर क्षेत्र खाली गराएको बताइएको छ।

'उपेन्द्रको रोइकराई खेर जाने'

कुशवाहालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि कटाक्ष गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र बारा २ बाट संसदमा इन्ट्री गर्ने दाउमा रहेको बताइएको छ। यद्यपि सत्तारुढ दलबाटै जनमत पार्टीबाट उम्मेदवारी परेकाले अब उनको सपना पुरा नहुने राउतको दाबी रह्यो।

'कसैलाई मन्त्री बन्न छटपटाहट छ भन्दैमा। म मन्त्री बन्न नपाए अरु पनि मन्त्री बन्न पाउँदैन भन्ने खालको। या त म हुन्छु। नत्र अरु हुँदैन। नेता कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ रहेको छ,' उपेन्द्र यादवतिर लक्षित गर्दै राउतले भने, 'मन्त्री बन्न छटपटाहटका कारण दबाव हालेर रोइकराई गरेर त्यहाँ चै वैशाख १० मै जबरजस्ती हाल्न लगाए।'

यसपटक जनमतले नै जित्ने दाबीसमेत राउतको रह्यो। 'जनमतले नै जित्छ। तीन चार महिना भएको छैन। जनताले रिजेक्ट गरेको अवस्थामा उ आउन खोज्नु राम्रो होइन। शिवचन्द्रलाई नै भारी मतले जिताउनेछ भन्नेमा म विश्वस्त छु,' राउतले भने।

को हुन् कुशहावा?

पार्टी प्रवेश कार्यक्रममा कुशवाहाले आफूलाई माओवादीमा अन्याय भएको दाबी गरे। यस्तो अवस्थामा जनमत प्रवेश गर्न पाएकोमा खुसी जनाए। पार्टी अध्यक्ष डा राउतले आफ्नो पार्टीले जनताकोमात्र नभई नेताकोसमेत उद्धार गर्न पाएकोमा खुसी जनाए। पूर्वसांसद समेत रहेका कुशवाहाले पछिल्लो निर्वाचनमा १३ हजार ४ सय ६८ मत ल्याउँदा रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ ल्याएर ल्याएका थिए।

‘कुशवाहा स्थानीय उम्मेदवार भएको र झिनो मतान्तरले मात्र पराजित भएकोले पार्टीले उम्मेदवार बनाउन लागेको हो,’ जनमत पार्टीका नेता बीपी साहले भने,‘बारा २ मा अब हाम्रो जित पक्का भयो।’ बारा २ का जनता बाहिरी नेताहरुबाट पीडित रहेकोले जनताको माग अनुसार स्थानीय उम्मेदवार जनमत पार्टीले दिएको नेता साहले बताए। उपनिर्वाचन पछि उपेन्द्र यादव विजयी भए मधेश प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने शर्तमा कांग्रेसले पनि यादवलाई समर्थन गर्ने बताइएको छ। यसपटकको उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार कुशवाहा र जसपा अध्यक्ष यादवबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ।

तस्विर : शिवचन्द्र कुशावाहाको फेसबुकबाट 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell