PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पंजावलाई छुट्टै देश बनाउन 'खालिस्तान अभियान'को नेतृत्व गरिरहेका अमृतपाल के नेपालमा छन्? प्रहरीले बढायो निगरानी



सविन ढकाल

पंजावलाई छुट्टै देश बनाउन 'खालिस्तान अभियान'को नेतृत्व गरिरहेका अमृतपाल के नेपालमा छन्? प्रहरीले बढायो निगरानी
पहेँलो पगडीमा अमृतपाल सिंह। तस्विर : अपइन्डिया डटकम

काठमाडौं : भारतबाट पंजाव राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंह अहिले भारतीय सुरक्षाकर्मीले सर्वाधिक खोजी गरिरहेका व्यक्तिमा पर्छन्। यतिखेर भने उनको चर्चा नेपालसँग पनि जोडिएको छ। कारण : भारतबाट फरार रहेका सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबी। तर नेपालका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले भने अहिलेसम्म उनी नेपालमा भए नभएको विषयमा औपचारिक जानकारी दिएको छैन।

केही समय अगाडि भारतीय सुरक्षा एजेन्सीले पंजावका केही स्थानमा सिंहलाई नियन्त्रणमा लिनको लागि 'सर्च' अभियान चलाएको थियो। तर उनी त्यहाँ भेटिएनन्। त्यससँगै नेपाल छिर्ने सीमा नाकामा पनि उनी हुन सक्ने आशङ्कामा खोजी गरियो, उनी भेटिएनन्। त्यसैले नेपाल छिर्ने सीमा नाकामा अहिले भारतीय सुरक्षाकर्मीले कडा जाँच गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिंह नेपाल हुँदै अन्य देशमा जानसक्ने भन्दै भारतीय पक्षले खोजीलाई तीब्रता दिएको हो। त्यसो त भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत सिंहलाई नेपाल छिर्न अनुमति नदिनसमेत पत्राचार गरिसकेको छ। पत्राचारको अनुसार नै अध्यागमन विभागले पनि आफ्नो 'नोटिस'मा राखिसकेको छ।

३० वर्षीय सिंहले पञ्जावलाई शिखहरुको लागि छुटै 'खालिस्तान' राष्ट्र बनाउनुपर्ने माग गर्दै आएका छन्। उनीविरुद्ध भारतमा राज्य विप्लव विरुद्धको आरोपदेखि ज्यान मार्ने उद्योग लगायतका विभिन्न आरोपहरू रहेका छन्।

भारतमा उनीविरुद्ध सुरक्षा एजेन्सीहरु आक्रमक भएपछि बेलायत, अमेरिका र क्यानडामा 'खालिस्तान मुभमेन्ट' फेरि सक्रिय बनेको थियो। बेलायतस्थित भारतीय राजदूतावास बाहिर खालिस्तानको माग गर्दै प्रदर्शनसमेत भयो। प्रदर्शनका क्रममा केही खालिस्तान अभियन्ताहरुले दूतावासबाट भारतीय झण्डा निकालेर खालिस्तानी झण्डा राख्ने प्रयाससमेत गरेका थिए। 

आफ्नो दूतावासमा नै आक्रमणको प्रयास भएपछि भारतले बेलायती कुटनीतिज्ञलाई बोलाएर प्रश्न गरेको थियो। भारतले विरोधमा नयाँ दिल्लीमा रहेको बेलायती दूतावास र राजदूतको निवास बाहिरको सुरक्षा हटाएको थियो। यस्तै, क्यानडा र अमेरिकालाईसमेत खालिस्तान अभियान रोक्न भारतले भनेको छ। भारतले क्यानडाका एक 'खालिस्तानी समर्थक शिख' सांसद र अन्य केही व्यक्तिको ट्वीटर ह्यान्डल भारतमा संचालनमा रोकसमेत लगाएको छ। 

सिंह नेपालमा रहेको र नेपाल आउन सक्ने खबरसँगै उनी भारतमै रहेको हुनसक्ने दाबीसमेत भारतीय मिडियाले गरेको छ। प्रहरीले सिंहको ८ भन्दा बढी भेषसहितको तस्विरसमेत जारी गरेको छ। अहिले अमृतपाल हातहतियार बोकेको समूहसँगै हिँडिरहेको भिडियोहरु भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले सेयर गरिरहेका छन्। 

खालिस्तानलाई लिएर शिखहरु विभाजित छन्। भारतमा पनि यसबारेमा मतभिन्नता रहेको छ। तर, अधिकांश शिखहरु 'खालिस्तान अभियान' प्रति सकारात्मक छैनन्। 

सिहंलाई भारतको नयाँ दिल्लीमा देखिएको सूचना प्रहरीले पाएको समाचारहरुमा उल्लेख छ। सिसिटिभी फुटेजको आधारमा उनी दिल्लीमा भएको आशंका गरिएको हो। तर प्रहरीले खोज्दा उनी भेटिएनन्। त्यसपछि उनी फेरि पंजाब नै पुगेको दाबी भारतीय संचारमाध्यमहरूले गरेका छन्। तर अहिलेसम्म उनी कहाँ छन् भन्ने खुलेको छैन।‍

सिंह भारतमै हुनसक्ने भए पनि खुला सीमाको फाइदा उठाउँदै उनी कुनै पनि बेला नेपाल आउन सक्ने भारतीय पक्षको बुझाइ छ। त्यसैले कमजोर सीमा क्षेत्रलाई प्रयोग गरेर नेपाल हुँदै तेस्रो मुलुक जानसक्ने आशंकामा भारतीय पक्षले नेपाललाई सिंहको बारेमा जानकारी दिएको हो।

नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले सिंह नेपालमा भए नभएको सूचना संकलन गर्न थालेको छ। त्यसको लागि उनी आएर बस्न सक्ने सम्भावित स्थानमा निगरानी बढाइको छ।

हाम्रो टोलीले सूचना सङ्कलन गरिरहेको छ। अहिलेसम्म नेपालमा आएकै भन्ने तथ्य फेला परेको छैन,' एक उच्च प्रहरी अधिकृतले भने। यस मामलामा अध्यागमन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell