बुटवल : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युट्युब, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालसँग टेलिभिजनहरू डराउन आवश्यक नरहेको बताएका छन्।
बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभामा नेता ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए। ‘पछिल्लो समय टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु,’ ओलीले भने ‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउनु पर्दैन।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि सञ्चार माध्यामहरुलाई सुझाव दिए। विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजन लगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढे यसको प्रभावकारिता अझै बढ्ने उनको भनाई थियो।
विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण शुरु भएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापक फड्को मारेको ओलीले बताए। नेपालमा ग्यालेक्सी प्रविधि अझै आइनसकेको उनले बताए।
मन्तव्यका क्रममा ओलीले पाल्पाको रानीमहल दरबार ऐतिहासिक धरोहर भन्दै यसबाट प्रेरणा लिनुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा रानीमहलसहित एकसय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गर्दै रानी तेजकुमारीको स्मरणमा खड्कशमशेरले बनाएकोले यसको नाम रानीतेजमहल बनाउनुपर्ने बताए। ‘रानीमहल त कस्को हो कस्को भन्ने पर्छ नि, तेजकुमारीको नाममा बनाएकाले यसको नाममा तेज जोडिनुपर्छ, सबैले यसलाई यही भनेर बुझौं,’ ओलीले भने। बुधबार बिहानमात्रै पाल्पाको रानीमहलमा पुगेर भ्रमण गरी फर्कीएको उनले सुनाए।