काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनगणनामा सनातन धर्मावलम्बीको संख्या निकै घटेको विषयमा सत्यत्य सार्वजनिक गर्न माग गरेका छन्। बुधवार विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरुको संख्या निकै घटेको हल्लाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।
पछिल्लो जनगणनामा धर्म, जातको तथ्याङ्क सार्वजनिक गरिएको छैन। यद्यपि थापाले भने यसबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्। '२०७८ सालमा भएको पछिल्लो जनगणनामा हिन्दु, बौद्ध र किराँत धर्मावलम्वीहरुको संख्या निकै घटेको हल्ला छ, सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु,' थापाले भनेका छन्। उनले धर्म परिवर्तनबारे बारम्बार आवाज उठाउँदै आएकोसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्।
'धर्म परिवर्तनको डढेलोमा सनातन धर्म (हिन्दु, बौद्ध र किराँत) संस्कृति र परम्परा कमजोर हुँदै गएको तथा लोभलालच, प्रलोभन, भ्रम र त्राश सिर्जना गरी योजनावद्ध र संगठितरुपमा धर्म परिवर्तन गराउने काम भैरहेको वारे राप्रपा नेपालले बारम्बार आवाज उठाउँदै आएको सर्वविदितै छ,' थापाले भनेका छन्, 'धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन गर्न गराउन पश्चीमा मुलुकहरूले करोडौं डलर लगानी गरिरहेका छन्। केही प्रमुख दलहरुले धर्मपरिवर्तनलाई संरक्षण प्रदान गरिरहेका छन्। राष्ट्रको पहिचान र एकताको आधार कमजोर बनाउने षड्यन्त्र भैरहँदा नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसंचार माध्यमहरू उदासीन रहनु उदेकलाग्दो छ।'
उनले धर्म रक्षाका लागि संघर्षमा उत्रनुबाहेक अर्को विकल्प नभएकोसमेत जनाएका छन्। 'सनातन धर्म संस्कृति र परम्पराको रक्षाका निम्ति अब संघर्षमा उत्रनुबाहेक अर्को विकल्प छैन। सनातन धर्म संस्कृतिका पक्षधर धार्मिक संस्था, स्वामी, गुरु, पण्डित, पुरोहित र आमजनतालाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ,' थापाले भनेका छन्।