PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खेलाडी नपुगेर ९ जना मैदानमा उतारेको एभिनरका दुई खेलाडीले पाए रेड कार्ड, सहज जित निकाल्दै मनाङ फाइनलमा



पहिलोपोस्ट

खेलाडी नपुगेर ९ जना मैदानमा उतारेको एभिनरका दुई खेलाडीले पाए रेड कार्ड, सहज जित निकाल्दै मनाङ फाइनलमा

धनगढी: छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा बुधवार रमाइलो घटना भएको छ। आझ सेमिफाइनल खेल अन्तर्गत मनाङ मर्स्याङदी क्लब र क्यामरुनको एभिनर क्लबबीचको खेल थियो। तर, एभिनरका खेलाडीको कागजात नपुग्दा ९ खेलाडीमात्र मैदान उत्रिए। र, मनाङ मर्स्याङदी क्लबले ६-० गोलको फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गर्न सफल भयो।

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।

कागजात पुरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो। तर, खेल अवधिभर ९ जना खेलाडीले पनि खेलेनन्। खेल सकिँदासम्म एभिनरमा ७ खेलाडीमात्र थिए।

मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रीक गोल गरे। मनाङका लागि खेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो।

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए। उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्‍यो। त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सीमित रहन पुगेको थियो।

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे। यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रीक पुरा गरे। खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे।

क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि मैदानमा केहि अवसर बनायो तर गोल गर्न सकेन।

मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते। जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्नेछ।

दोस्रो सेमिफाइनल खेलमा विहिबारआयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लव खेल्नेछन्। उक्त खेलबाट फाइनल खेल्ने दोस्रो टोलीको टुंगो लाग्नेछ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell