काठमाडौंः मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध दलहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएपछि दलहरुको मन्त्रीको सूची बनाउन लागेका छन्।
मन्त्रीको रस्साकस्सी सबैभन्दा बढी नेपाली कांग्रेसमा छ। कांग्रेसले आठ मन्त्रालय पाउने समझदारी गठबन्धन दलभित्र छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारमा सहभागी हुने तयारीमा छ। मन्त्रीको सूची र मन्त्रालयको जिम्मेवारी भने अझै पनि मिलिसकेको छैन।
कांग्रेस स्रोतका अनुसार खड्काको संयोजकत्वमा अर्का उपसभापति धनराज गुरुङ पनि मन्त्रिपरिषदमा सहभागी हुनेछन्।
एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बु, प्रकाशसरण महत, रमेश रिजाल र किशोरसिंह राठोरको नाम पनि मन्त्रीमा टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ। सीता प्रत्यक्षमा निर्वाचित कांग्रेसको एकमात्र महिला सांसद हुन्।
कांग्रेसबाट दीपक खड्काले पनि मन्त्रीमा दाबी भने यथावत राखेको निकट स्रोत बताउँछ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको साताभन्दा लामो समय भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
सत्ता गठबन्धनबीच बुधबार मात्र मन्त्रालय बाँडफाँटमा सहमति भएको हो।